१३ मंसिर २०८१, बिहीबार | Thu Nov 28 2024

दुर्भाग्यपूर्ण सम्भावनालाई पराजित गर्न नयाँ स्तरमा एकतावद्ध हुन इश्वर पोखरेलको अपिल

२४ असोज, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य समेत रहेका उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखेरलले दुर्भाग्यपूर्ण सम्भावनालाई पराजित गर्न नयाँ स्तरमा एकतावद्ध हुन ज़रूरी रहेको बताएका छन । सामाजिक सञ्जाल फेसबुक मार्फत एक टिप्पणी सार्वजनिक गर्दै उपप्रधानमन्त्री पोखरेलले भनेका छन ‘विगतमा हामी स्वयंमले स्थापित गरेका विचार, विधि, मान्यता, अभ्यास र आचरणलाई नयाँ स्तरमा उठाउनु र स्थापित गर्नु ज़रूरी रहेको बताएका छन ।’ पोखरेलले अघि भनेका छन ‘देशमा ‘क्रान्तिकारी परिवर्तन’ गर्ने नाममा विदेशी शक्तिसित कुनै गोप्य साँठगाँठ पनि गरेनौं । हामी आफ्नै देशका आधारभूत जनतामा भर परेर टिक्न चाह्यौं, बाँच्न चाह्यौं ! जनताले नरूचाएका वा जनतालाई हानी पुर्याउने कुनै रूमानी ‘संघर्ष ‘ मा रमाएनौं, त्यस्ता कुरालाई रुचाउँदै रुचाएनौं ! हामीभित्र आत्मकेन्द्रित जंगली महत्वाकाँक्षा कहिले पनि झांगिन पाएन, फल्न फूल्न पाएन । यसरी, हामी राष्ट्रिय राजनीतिमा महत्वपूर्ण केन्द्र बन्न सफल रह्यौं, राजनीतिक आन्दोलनका साथै सामाजिक आन्दोलनमा पनि नेतृत्वदायी शक्ति बन्यौं !’

फेसबुकमा पोखरेलले लेखेको टिप्पणी जस्ताको त्यस्तै यहाँ प्रस्तुत गरिएको छ

नयाँ स्तरमा एकतावद्ध हुनु ज़रूरी छ ! 
हिजो अत्यन्त प्रतिकूल अवस्थामा, एक किसिमले केही नभएको अवस्थामा, अथक प्रयत्नका साथ हामीले कम्युनिष्ट पार्टी बनायौं र त्यसलाई एउटा नयाँ उचाइमा पुर्यायौं । मैलिकतामा आधारित सुसंगत विचारका श्रृंखला विकास गर्यौं ! सुदृढ संगठनात्मक संरचना तथा आम जनतामा स्थापित नेतृत्व पंक्ति विकास गर्यौं ।

यसक्रममा पार्टीभित्रै देखापर्ने विकृति- विसंगतीका विरूद्धमा जुध्यौं र त्यसका वाहकहरूलाई पराजित गर्दै अघि बढ्यौं- बढिरह्यौं ! हामी एकता र एकतावद्ध हुने कुराको पक्षमा उभिइरह्यौं, फूट विभाजनका विरूद्धमा चट्टानी ढंगले खडा भयौं र पराजीत गर्यौं । यी काम गरिरहँदा हामीले देश र जनताका हितमा काम गर्ने कुरालाई केन्द्रमा राखिरह्यौं ! हामी ‘क्रान्तिकारी शक्ति निर्माण गर्ने ‘ नाममा वा ‘क्रान्तिकारी नेतृत्वको रक्षा गर्ने’ नाममा विदेशी भूमिमा आश्रित रहेनौं, रहन चाहेनौं ।

देशमा ‘क्रान्तिकारी परिवर्तन’ गर्ने नाममा विदेशी शक्तिसित कुनै गोप्य साँठगाँठ पनि गरेनौं । हामी आफ्नै देशका आधारभूत जनतामा भर परेर टिक्न चाह्यौं, बाँच्न चाह्यौं ! जनताले नरूचाएका वा जनतालाई हानी पुर्याउने कुनै रूमानी ‘संघर्ष ‘ मा रमाएनौं, त्यस्ता कुरालाई रुचाउँदै रुचाएनौं ! हामीभित्र आत्मकेन्द्रित जंगली महत्वाकाँक्षा कहिले पनि झांगिन पाएन, फल्न फूल्न पाएन । यसरी, हामी राष्ट्रिय राजनीतिमा महत्वपूर्ण केन्द्र बन्न सफल रह्यौं, राजनीतिक आन्दोलनका साथै सामाजिक आन्दोलनमा पनि नेतृत्वदायी शक्ति बन्यौं !

अहिले हामी भन्दैछौं- हामी थप एकतावद्ध बनेका छौं ! कता हो कता शक्तिशाली पनि बनेका छौं !! तर हाम्रो यो स्थितिलाई सच्चा शक्तिमा बदल्नका लागि विगतमा हामी स्वयंमले स्थापित गरेका विचार, विधि, मान्यता, अभ्यास र आचरणलाई नयाँ स्तरमा उठाउनु र स्थापित गर्नु ज़रूरी छ । प्राप्त भएको उचाइसंगै चुनौतीहरू पनि प्रकट हुनसक्छन् भन्ने कुरालाई यतिवेला पनि हेक्का राख्नु ज़रूरी छ । त्यस्ता दुर्भाग्यपूर्ण सम्भावनालाई पराजित गर्न विगतमा हामी स्वयमले स्थापित गरेका, विकसित गरेका कुरामा आधारित हुँदै अगाडि बढ्नुपर्ने ज़रूरी छ । हाम्रा राम्रा कुराहरूले, हामी स्वयमले विकास गरेका राम्रा कुराहरूले मात्र हामीलाई बचाउन सक्नेछन् , हामी नयाँ स्तरमा उठ्न सक्नेछौं !!

प्रकाशित मिति : २४ आश्विन २०७५, बुधबार १०:३८