हुम्लामा पुग्यो सामुदायिक विद्यालयका पाठ्यपुस्तक
१ वैशाख, सिमकोट। समयमै पाठ्यपुस्तक नपुग्ने हिमाली जिल्ला हुम्लामा यस वर्ष शैक्षिक सत्र सुरु हुनु अगावै विद्यालयमा पाठ्यपुस्तक पठाइएको छ । जिल्लाका चार गाउँपालिकाका सामुदायिक विद्यालयमा पाठ्यपुस्तक पुगेको हो ।
शैक्षिक सत्र सुरु भएको महिनौँ दिनसम्म पुस्तक नपाएको गुनासो गर्ने विद्यार्थीले यस पटक भने शैक्षिक सत्र सुरु भएको दिन नै पुस्तक पाउने भएका छन् । पुस्तक नपाएको दुःख सुनाउने हुम्लाका विद्यार्थीको गुनासो यस वर्ष सम्बोधन भएको छ ।
जिल्लाको दक्षिण भेगमा रहेका सर्केगाड, चङ्खेली, ताँजकोट र अदानचुली गाउँपालिकामा तीन दिनअगाडि नै पाठ्यपुस्तक पुगिसकेको छ । योसँगै विद्यार्थीले वार्षिक परीक्षा हुँदासम्म हातमा किताब नहुने पीडा अन्त्य भएको छ ।
ताँजकोटका १८ र अदानचुली गाउँपालिका २१ सामुदायिक विद्यालयमा पाठ्यपुस्तक पु¥याउने जिम्मा लिनुभएका लोकेन्द्र भण्डारीले केही दिनअगाडि सबै विद्यालयमा पुस्तक पुगिसकेको जानकारी दिए । उहाँका अनुसार नयाँ शैक्षिक सत्र सुरु नभएकाले सम्बन्धित गाउँपालिका र विद्यालयलाई हस्तान्तरण भने गरिएको छैन ।
सर्केगाड र चङ्खेली गाउँपालिकामा रहेका सामुदायिक विद्यालयमा तीन दिनअगाडि नै पुस्तक पुगिसकेको ढुवानीकर्ता मानदेव शाहीले बताउनु भयो । नेपालगञ्जबाट गाडीमार्फत ढुवानी गरेर जिल्लामा पु¥याइएकाले ढुवानीबापत पाउनुपर्ने रकम नपाएको उन्को गुनासो थियो ।
“पहिला जिल्ला शिक्षा कार्यालयमार्फत मङ्सिरको दोस्रो चौमासिकमा पाठ्यपुस्तक खरिदका लागि सम्बन्धित विद्यालयमा रकम उपलब्ध गराई पुस्तक खरिदको प्रक्रिया अगाडि बढाइन्थ्यो”, शाहीले भने । अहिले पुस्तक खरिदका लागि स्थानीय पालिकाले प्रक्रिया अगाडि बढाए पनि पुस्तक खरिदको रकम समयमा दिन नसकेको उन्ले बताए । पालिकाले पाठ्यपुस्तक खरिद तथा ढुवानीका लागि रकम भुक्तानी नगरे पनि बैंकबाट ऋण निकालेर शैक्षिक सत्र सुरु हुनु अगावै पुस्तक सम्बन्धित विद्यालयमा पु¥याएको शाहीको भनाइ थियो । पालिकाले सम्बन्धित विद्यालयलाई रकम नदिँदा जिल्लामा पुगेका पुस्तक डिलरबाट विद्यालयले खरिद गर्न नसकेको शाहीले उल्लेख गरे ।
पुस्तक पुगे पनि चङ्खेली, सर्केगाड, ताँजकोट र अदानचुली गाउँपालिकाले पुस्तक खरिदका लागि आफ्ना मातहातका विद्यालयलाई भुक्तानी गर्न नसक्दा सम्बन्धित विद्यालयले खरिद गर्न सकेका छैनन् । पालिकाले सम्बन्धित विद्यालयको खातामा रकम जम्मा गरेको दिन डिलरबाट पुस्तक लैजान सकिने शाहीको भनाइ थियो । यी चार पालिकामा पैदल मार्गमार्फत केही दिनअघि पुस्तक पुगिसकेका छन् । कक्षा १ देखि १० सम्मका सबै विषयका पुस्तक पुगेको ढुवानीकर्ता शाहीले जानकारी दिए ।
तीन गाउँपालिकाको पुस्तक भोलिदेखि ढुवानी हुने
जिल्लाको माथिल्लो भेगका सिमकोट, खार्पुनाथ र नाम्खा गाउँपालिकामा रहेका सामुदायिक विद्यालयका लागि पाठ्यपुस्तक पुग्न सकेको छैन । हवाई मार्गमार्फत ढुवानी गर्दा जहाजले समयमा ढुवानी नगर्ने भएकाले पैदल मार्गमार्फत ढुवानी गरिने ढुवानीको जिम्मा लिएका ज्ञानबहादुर रोकायाले बताए । उन्का अनुसार तीन पालिकाका लागि भोलि शनिबारदेखि नेपालगञ्जबाट पैदल मार्ग भएर ढुवानी गरिने छ ।
शनिबारदेखि पुस्तक ढुवानी सुरु गरी एक हप्ताभित्र पैदल मार्गबाटै सदरमुकाम पुग्ने रोकायाले बताए । उहाँले तीन पालिकाका ५८ सामुदायिक विद्यालयका लागि पाठ्यपुस्तक पुर्याउने जिम्मा लिएको हो ।
यो वर्ष विद्यार्थीले समयमै पुस्तक पाउने
हिमाली जिल्ला हुम्ला दुर्गम भएकाले सधैँ पाठ्यपुस्तकको समस्या झेलिरहेका विद्यार्थीले यो शैक्षिक सत्रमा भने समयमै किताब पाउने भएका छन् । कहिले सडक समस्या त कहिले हवाई सेवा नियमित नहुँदा समस्या भोगिरहेका हुम्लासहित कर्णालीका हिमाली जिल्लाका विद्यार्थीले यस शैक्षिक सत्र सुरु भएसँगै पुस्तक पाउने भएका हुन् । हुम्लाका चार गाउँपालिकामा पुस्तक पुगिसकेका छन् भने तीन पालिकाका लागि शनिबारदेखि ढुवानी सुरु हुदैँछ ।
यहाँ तीन वर्षयतादेखि नयाँ शैक्षिक सत्र बैशाखदेखि सुरु हुने गरेको छ । कोरोना महामारीका समयमा पठनपाठनमा समस्या भएपछि यहाँका स्थानीय तहले वैशाखदेखि नयाँ शैक्षिक सत्र सञ्चालन गर्दै आएका हुन् ।
तीन वर्षअघि फागुन २ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु हुने र मङ्सिरको अन्तिमसम्म वार्षिक परीक्षा सकेर यहाँका शिक्षक हिउँदे बिदा बस्दै आएका थिए । कोरोना सङ्क्रमणपछि हिउँदे बिदा भए पनि चैतमा वार्षिक परीक्षा सम्पन्न गरेर बैशाखदेखि नयाँ शैक्षिक सत्र सुरु गर्न थालिएको मानसरोवर उच्च माध्यामिक विद्यालयका प्रधानाध्यापक अमरबहादुर शाहीले बताए ।
प्रकाशित मिति : १ बैशाख २०८०, शुक्रबार १४:०७