विद्यालयलाई बालेनको चेतावनीः पुस्तक र पोशाकको व्यापार गरे कडा कारबाही हुन्छ
२६ चैत, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पुस्तक र पोशकको व्यापार गरे विद्यालायलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ । महानगरका प्रमुख बालेन्द्र साहको निर्देशनमा शिक्षा शाखाले सम्पूर्ण विद्यालयमा परिपत्र नै गरेर पुस्तक र पोशाकको व्यापार गरे कडा कारबाही गर्ने चेतावनी दिएको हो । परिपत्रमा तोकिएकै ठाउँबाट किताब तथा विद्यालय पोशाक खरिद गर्न बाध्य पार्ने विद्यालयलाई कारबाही गर्ने बताइएको छ ।
काठमाडौं महानगरपालिकाका मेयर बालेनले अभिभावकलाई तोकिएकै ठाउँमा किताब तथा विद्यालय पोशाक खरिद गर्न बाध्य तुल्याउने कार्य संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिकका ०६९ विपरित भएको हुँदा उलंघन गर्नेलाई कारबाही हुने बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा ‘स्टाटस्’ लेख्दै उनले भनेका छन्,‘विद्यालय आफैँले किताब बेच्ने गरेको र पोसाकसमेत सम्बन्धित ठाउँबाट नै किन्नु भनेर अभिभावकलाई बाध्य गराएको गुनासो पटक पटक आइरहेकाले विद्यालयको सो कार्य संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ अनुसार दण्डनीय भएको स्मरण गराइन्छ ।’
त्यस्तै, मेयर बालेनले महानगरपालिकाभित्रका सबै विद्यालयलाई संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका ०६९ अनुसार कार्य गर्न तथा गराउन पनि अनुरोध गरेका छन् ।

प्रकाशित मिति : 10:47













