१३ मंसिर २०८१, बिहीबार | Thu Nov 28 2024

नेविसंघमा ३२ वर्षको उमेर हद, महामन्त्री कुन्दनराज काफ्ले लगायतको अध्यक्ष बन्ने बाटो बन्द

२२ असोज, काठमाडाैँ । नेपाली कांग्रेसले नेपाल विद्यार्थी संघमा ३२ वर्षे उमेरहद कायम गर्ने निर्णय सदर गरेको छ । अाइतबार मध्यरातमा सकिएको बैठकले नेविसंघको वर्तमान नेतृत्वप्रति अाक्रमक अभियान सञ्चालन गरिरहेका महामन्त्री कुन्दनराज काफ्लेलार्इ अध्यक्ष बन्ने बाटो बन्द गर्ने गरी उमेर हद तोकेको हो ।

विधान र नियमावलीको अन्तिम टुंगो लगाउन सिफारिस गर्दा नेविसंघको नेतृत्वले ३२ वर्षे उमेरहद हटाउन प्रस्ताव गरे पनि पार्टी नेतृत्वले पहिलेकै व्यवस्थाअनुसार ३२ वर्षे उमेरहद कायम नै रहने निर्णय गरेको छ । अब नेविसंघमा ३२ वर्ष कटेका कुनै पनि नेताले महाधिवेशनमा प्रतिस्पर्धा गर्न पाउनेछैनन् । नेविसंघको १२औँ महाधिवेशन उमेरहद लगाएरै गर्ने निर्णय गरेको हो । ३२ वर्षे उमेरहद लगाउने वा नलगाउने भन्नेमा नेताहरूबीच मत बाझिएको छ ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला पक्षले नेविसंघको विधानमा पर्याप्त छलफल गर्न माग गरेका थिए । रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र अर्जुननरसिंह केसीले विधानमा पर्याप्त छलफल गर्न नपाएको गुनासो गरे पनि उनीहरूको गुनासको सुनुवाइ भएन ।

प्रकाशित मिति : २२ आश्विन २०७५, सोमबार ०८:२२