बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको पेन्टी गायब पार्ने प्रहरी को हुन ?
२१ असोज, काठमाडाैँ । कञ्चनपुर भीमदत्तनगरकी बालिका निर्मला पन्तको सामूहिक बलात्कारपछि हत्या भएको छानविन सिमितिको प्रतिवेदनले ठहर गरेको छ । प्रतिवेदनले प्रहरीले निर्मलाको पेन्टी लगायतको बस्त्र समेत गायब पारेको उल्लेख गरेको छ । जिप्रका कञ्चनपुरले तयार पारेको सनाखत मुचुल्कामा निर्मला पन्तको रातो कलेजी रंगको सुरुवाल, रातो रंगको भेष्ट र खराने रंगको पेन्टी लगायत साइकल कापी प्रहरीले बरामत गरी लगेको उल्लेख भए पनि बरामत गरिएका उल्लेखित वस्तुहरु हाल नभेटिएको समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
त्यसैगरी घटनास्थलबाट नीलो रंगको सेन्डो गञ्जी र खैरो रंगको जिन्स हाफपाइन्ट बरामद गरिएको कागजमा उल्लेख भएकोमा नमूना परीक्षणको पत्रलाई सच्याउन जिप्रकाले अर्को पत्र पठाएको समितिले प्रतिवेदनमा उल्लेख गरेको छ । ‘सेतो गञ्जी हुनुपर्नेमा नीलो रंगको सेन्डो गञ्जी हुन गएको र हाप पाइन्ट हुनुपर्नेमा नीलो रंगको हाफ पाइन्ट हुन गएकाले सच्याइदिनुहुन अनुरोध गरेको देखिन्छ’, प्रतिवेदनमा भनिएको छ । त्यसैगरी समितिले तयार पारेको प्रतिवेदनमा निर्मला पन्तको भजाइनल स्वावमा भेटिएको भनिएको वीर्यका विषयमा पनि संशय देखाएको छ । उक्त स्वाब परीक्षणलाई समितिले ‘चलाखीपूर्ण’ भनेको छ ।

प्रतिवेदनको २४/२५ पृष्ठमा लेखिएको छ, ‘महाकाली अञ्चल अस्पतालमा २३ साउनको शव परीक्षणको रिपोर्टमा मृतकको भेजिनामा वीर्यको जीवाणु नदेखिएको र कन्फर्म गर्न भजाइनल स्वाब नेशनल फरेन्सिकमा पठाउने भनिएको पत्रको व्यहोरा र मृतकलाई पानीमा घोप्टो पारेर प्रमाण लोप हुने गरी राखिएको अवस्थाले पनि उक्त कार्य चलाखीपूर्णरुपमा गरेको जस्तो देखिन्छ ।’ प्रतिवेदनमा भनिएकको छ ।
प्रकाशित मिति : २१ आश्विन २०७५, आईतवार २२:४२












