१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

नारायणगढ–मुग्लिङ सडकखण्डमा पहिरोको उच्च जोखिम

२८ फागुन, चितवन । नारायणगढ–मुग्लिङ सडकखण्डको भित्तो काटिएको र पहिरोको उच्च जोखिमयुक्त सडकखण्ड बनेको छ ।
उक्त क्षेत्रमा पहिरो रोक्न गर्नुपर्ने काम अझै शुरु हुन नसक्दा आउँदो वर्षा समयसम्म पहिरोको उच्च जोखिम देखिएको छ ।

नारायणगढ–मुग्लिङ सडक आयोजनाका इन्जिनियर शिव खनालका अनुसार सो सडकको ३३ ठाउँ पहिरोको दृष्टिले उच्च जोखिममा छ । पाँचवटा ठाउँमा बायो–इन्जिनियरिङपश्चात् पहिरो रोकिएको छ ।

अन्य नौ ठाउँमा अहिलेको ठेक्काअन्तर्गत नै बायो–इन्जिनियरिङ हुनेछ भने बाँकी १९ ठाउँमा छुट्टै बजेटमार्फत काम गर्नुपर्ने खनालले बताए ।
सो सडकको जलविरेदेखि मुग्लिङसम्मको सात किलोमिटरको दूरीमा ८० प्रतिशत ठाउँ जोखिमयुक्त छ ।
सडक विभागका उपमहानिर्देशक सञ्जयकुमार श्रेष्ठले अहिले काम गरिरहेका ठेकेदारले बढी रकम माग गरेपछि काममा ढिलाइ भएको बताए । ठेक्का प्रक्रियाबाट समयमा काम सक्न नसकिने भएकाले त्यससम्बन्धी कामको दक्षता राख्नेहरुलाई सोझै कामको जिम्मा दिने तयारी भइरहेको उनले बताए । चैत महिनाभित्रमा काम थालिने जानकारीसमेत दिए ।

समयमा काम शुरु नभएकाले यस वर्षको वर्षात्मा पहिरोको उच्च जोखिम हुन सक्ने भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् । हालसम्म सो सडकको ७९ दशमलव ३ प्रतिशत काम सम्पन्न भएको छ । सो सडकको मुग्लिङतर्फको खण्डमा भित्तो काट्ने काम वर्षात्अघि नसकिने अवस्था एकातिर छ भने अर्कोतर्फ पहिरो रोक्न गर्नुपर्ने काम शुरु नहुँदा वर्षात्मा सडक जोखिमयुक्त बन्न सक्ने देखिएको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७४, सोमबार १२:४५