२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

मिटरब्याज पीडितसँग सरकारले आज वार्ता गर्ने

१५ चैत, काठमाडौं । न्याय माग्दै काठमाडौं आएका मिटरब्याज पीडितसँग सरकारले आज (बुधवार) वार्ता गर्दैछ । वार्ताका लागि सरकारले गृह मन्त्रालयकी सहसचिव रुद्रदेवी शर्माको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ । समितिलाई मंगलवार नै पीडितसँग वार्ता गर्न भनिएको थियो ।

तर, तयारी नपुगेको भन्दै मंगलवार वार्ता हुने सकेको थिएन । सरकारले मंगलवार दिउँसो वार्ता समिति गठन गरेको थियो ।पीडित पक्षकोतर्फबाट भने वार्ता समिति गठन भइसकेको छैन । पीडित पक्षबाट आन्दोलनमा सहभागि सुर्जन तिवारीले वार्ता समिमि गठन भईनसकेको बताए । उनले भने,‘सरकारले वार्ता टोली गठन गरेको छ ।

सरकारी टोलीसँग हामी आजै वार्तामा बस्छौं । हाम्रो तर्फबाट वार्ता टोली गठन भइसकेको छैन । हामी तयारीमा छौं । बैठकपछि आजै निर्णय हुनेछ ।’सरकारले मंगलवार नै मिटरब्याजलाई फौजदारी अपराध घोषणा गरि मुलुकी अपराध संहित ०७४ सम्शोधन गर्ने निर्णय गरेको छ । मंगलवार पीडित प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन बालुवाटारस्थित प्रधानमन्त्री निवास पुगेका थिए ।

उनीहरुले बालुवाटारमा एक घण्टा धर्ना दिएका थिए । त्यसपछि माइतीघर मण्डला आएका उनीहरु नयाँ बानेश्वरस्थित संसद भवन पुगेका थिए । चौतर्फी दवावमा रहेको सरकारले मंगलवार साँझ मन्त्रीपरिषद्को आकष्मिक बैठक बोलाएको थियो । सोही बैठकले मिटरब्याजलाई अपराध घोषणा गरि कानून संशोधन गर्ने निर्णय गरेको थियो ।

१३ दिनदेखि पैदल हिँडेर उनीहरु सोमवार काठमाडौंको खुलामञ्च आइपुगेका थिए । उनीहरु खुलामञ्चबाट विरोध कार्यक्रम गर्न चाहन्थे । तर, काठमाडौं महानगरपालिकाले अवरोध गरेपछि सोमवार रातभर उनी खुलामञ्च प्रवेशद्धवारमै धर्नामा बसे । गत २ चैतमा उनीहरु महोत्तरीबाट पैदल हिँडेका थिए । ७३ जनाको समुहमा आएका उनीहरु हेटाडौं–भीमफेदी हुँदै काठमाडौ आइपुगेका थिए । उनीहरुसँग सुत्केरी महिलादेखि वृद्धवृद्धा समेत सहभागी छन् ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार ०८:४२