१६ पुष २०८२, बुधबार | Wed Dec 31 2025

कोरोना महामारीपछि पहिलो पटक मकवानपुरमा रामनवमी मेला

१४ चैत, हेटौँडा । पूर्वी मकवानपुरको बागमती गाउँपालिकामा कोरोना महामारीपछि पहिलो पटक रामनवमी मेला सुरु भएको छ । विसं २०३३ देखि वार्षिकरुपमा हुँदै आएको मेला कोरोना माहामारीका कारण सञ्चालन हुन सकेको थिएन । मेलाका संयोजक खड्कबहादुर पुलामीका अनुसार मेलामा एक लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने र रु दुई करोडभन्दा बढीको कारोबार हुने अनुमान गरिएको छ । एक सय स्टल रहेको मेलामा कृषि उत्पादनसँगै बाल उद्यान, खाना, कपडा, भाँडाकुँडा, खाद्यान्न, जुत्ता चप्पल बिक्रीका लागि राखिएको छ ।

मेला अवलोकन गर्न मकवानपुरसहित सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, काभ्रे र ललितपुरबाट दर्शक आउने मेला आयोजक समितिका सह–संयोजक मनोज नेगीको भनाइ छ । मेलामा स्थानीय तहमा उत्पादन भएका सुन्तला, बेसार, केरा, साग, कफी, बागमती खोलाको माछा, अर्गानिक बङ्गुरको छोइला, फापरको ढिँडोलगायतका खाद्यान्नको प्रवद्र्धन तथा स्थानीय कला संस्कृति, तामाङ समुदायको डम्फु नाच, भजनकीर्तन, राई, मगरको संस्कृति झल्कने सांस्कृतिक कार्यक्रम आयोजना गरिने छ । ‘फापरबारीको हाम्रो शान स्थानीय कला संस्कृति, कृषि, पर्यटन प्रवद्र्धन हाम्रो पहिचान’ भन्ने मूलनाराका साथ सुरु भएको मेलामा गायक विश्व दोङ, तारा प्रकाश लिम्बू, क्षितिज रानामगर लगायतकाले सांगितिक प्रस्तुति दिनुहुनेछ ।

प्रकाशित मिति : १४ चैत्र २०७९, मंगलवार १६:२०