८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

बीमा कम्पनीको चुक्ता पुँजी पुर्‍याउने समय सकिदै, कुन कम्पनीले हकप्रद सेयर जारी गर्न पाउछन् ?

१४ चैत, काठमाडाैं । बीमा कम्पनीहरुलाई नेपाल बीमा प्राधिकरणले पुँजी वृद्धि गर्नका लागि दिएको समय सीमा सकिन लागेकाे छ । प्राधिकरणले बीमा कम्पनीहरुलाई पुँजी वृद्धिका लागि चैत मसान्तसम्मको समय सीमा तोकेको थियो । पुँजी वृद्धिका लागि तोकिएको समय सकिनै लाग्दा पनि कतिपय कम्पनीहरुले तोकेको चुक्ता पुँजी पुर्‍याउन सकेका छैनन् । हालसम्म जीवन र निर्जीवन गरी २१ वटा बीमा कम्पनीहरुले मर्जरमा जाने निर्णय गरेका छन् ।

जसमध्ये हालसम्म १२ निर्जीवन बीमा कम्पनी ६ वटामा कायम हुने गरी मर्जर प्रक्रियामा सहभागी भएका छन् । मर्जर प्रक्रियामा सामेल भएका मध्ये आठ निर्जीवन बीमा कम्पनी चार वटामा कायम भएर एकीकृत कारोबार सुरू गरेका छन् । चार कम्पनी मर्जर प्रक्रियामा छन् ।

निर्जीवन बीमा कम्पनीतर्फ ३ वटा कम्पनीहरूले मात्रै तोकिएको समय अगावै प्राधिकरणले तोकेकाे बमोजिमको चुक्ता पुँजी वृद्धि गरेका छन् । शिखर, सिद्धार्थ प्रिमियर र सगरमाथा लुम्बिनीको चुक्ता पुँजी नियामकले तोकेको न्यूनतम पुँजी पुगेको हो ।

शिखर इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब ६५ करोड रुपैयाँ छ । सगरमाथा र लुम्बिनी जनरलले ‘सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड’को नामबाट संयुक्त कारोबार सुरु गरेका छन् । मर्जरपछि बनेको कम्पनीको चुक्ता पुँजी दुई अर्ब ६२ करोड रुपैयाँ कायम भएको छ । यो बीमा प्राधिकरणले तोकेको न्यूनतम चुक्ता पुँजीभन्दा बढी हो ।

सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सले पनि मर्जर प्रक्रिया टुङ्ग्याई एकीकृत कारोबार सुरू गरेका छन् ।‘सिद्धार्थ प्रिमियर’को नामबाट एकीकृत कारोबार सुरुकाे कम्पनीकाे चुक्ता पुँजी २ अर्ब ८० करोड रुपैयाँ रहेकाे छ । याे बीमा प्राधिकरणले तोकेको न्यूनतम पुँजी भन्दा बढी हो ।

हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सले ‘हिमालयन एभरेष्ट इन्स्योरेन्स’को नामबाट एकीकृत कारोबार सुरु गरेका छन् । कम्पनीको चुक्ता पुँजी २ अर्ब ३० करोड पुग्नेछ । कम्पनीलाई २ अर्ब ५० करोड रुपैयाँ पुँजी पुर्याउन अझै १९ करोड ८४ लाख रुपैयाँ आवश्यक पर्नेछ ।

साविक सानिमा जनरल र जनरल इन्स्योरेन्सले ‘सानिमा जिआईसी’ को नामबाट एकीकृत कारोबार सुरु गरेका थिए । हाल सानिमा जीआईसी कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ रहेको छ ।

यस्तै, अजोड, यूनाइटेड र प्रुडेन्सियल, आईएमई जनरल भने मर्जर प्रक्रियामा छन् । प्रुडेन्सियल र आइएमई जनरल इन्स्योरेन्स मर्जर प्रक्रियामा छन् । एकीकृत कारोबार पश्चात बन्ने नयाँ कम्पनीको चुक्तापुँजी नियामकले तोकेको न्यूतम पुँजी भन्दा धेरै पुग्नेछ ।

आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्स मर्जरमा जाने भएका छन् । यी दुई कम्पनीबीच चैत ६ गते मर्जरमा जाने अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । मर्जरपश्चात बन्ने कम्पनीको चुक्ता पुँजी ३ अर्ब रुपैयाँ नाघ्ने छ । जुन नियामकले तोकेको न्यूनतम पुँजीभन्दा बढी हाे ।

अजोडले प्रभु इन्स्योरेन्ससँग भएको मर्जर सम्झौता तोड्दै पुनः यूनाइटेडसँग मर्जरमा जाने सम्झौता गरेको छ । अजोड इन्स्योरेन्सले युनाइटेड इन्स्योरेन्ससँग पुस २६ गते मर्जरसम्बन्धी प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर गरेको थियो ।

मर्जरपछि पनि चुक्तापुँजी नपुग्ने बीमा कम्पनीहरुले हकप्रद सेयर जारी गर्न पाउने भएका छन् । मर्जर प्रक्रियामा रहेका कतिपय बीमा कम्पनीहरुकाे तोकिएको न्यूनतम चुक्तापुँजी पुगेको छैन ।  नियामक निकाय नेपाल बीमा प्राधिकरणले मर्जरमा सहभागी भएका बीमा कम्पनीहरूले हकप्रद सेयर मार्फत चुक्तपुँजी बढाउन सक्ने नीति ल्याएको हो । तर पुँजी वृद्धिका लागि केही पनि योजना नबनाएका कम्पनीहरुले भने हकप्रद सेयर जारी गर्न पाउने छैनन् ।

प्रकाशित मिति : १४ चैत्र २०७९, मंगलवार १४:०५