१६ असार २०८१, आईतवार | Sun Jun 30 2024

नेपालको जनसंख्या २ करोड ९१ लाख, सबैभन्दा बढी वृद्धिदर भक्तपुरमा


१० चैत, काठमाडाैं । राष्ट्रिय तथ्यांक कार्यालयले जनगणना २०७८ को नतिजा प्रकाशन गरेको छ। सोल्टी होटलमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक गरेका हुन् । आज सार्वजनिक भएको तथ्यांकअनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ । गत वर्षको माघमा प्रकाशित जनगणनाको प्रारम्भिक तथ्यांकअनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० थियो । त्यसबेला प्रारम्भिक तथ्यांक प्रकाशन गरिएको र अहिलेको नतिजा अन्तिम भएकोले यो नै आधिकारिक भएको कार्यालयको भनाइ छ।

आज प्रकाशति तथ्यांकअनुसार नेपालमा महिलाको जनसंख्या पुरुषको भन्दा महिलाको जनसंख्या ६ लाख ५७ हजार ४७६ जना बढी छ। महिलाको जनसंख्या १ करोड ४९ लाख ११ हजार २७ छ भने पुरुषको जनसंख्या १ करोड ४२ लाख ५३ हजार ५५१ जना रहेको छ । जस अनुसारको महिलाको प्रतिशत ५१.०२ र पुरुषको ४८.९८ रहेको छ । अन्यलिंगीको जनसंख्या ०.०१ प्रतिशत रहेको तथ्यांककार्यालयले प्रकाशन गरेको राष्ट्रिय जनगणना २०७८ को संक्षिप्त नतिजामा उल्लेख गरिएको छ।

नेपालको जनसंख्या वृद्धिदर घटेर १ प्रतिशतभन्दा कम देखिएको छ। २०६८ सालको जनगणनामा १.३ प्रतिशत रहेको जनसंख्या वृद्धिदर घटेर अहिले ०.९२ प्रतिशत रहेको छ । जसअनुसार सबभन्दा बढी जनसंख्या वृद्धिदर भएको जिल्ला भक्तपुर हो । जहाँको जनसंख्या वृद्धिदर ३.३५ प्रतिशत छ भने सबभन्दा कम वृद्धिदर भएको जिल्ला रामेछाप हो । जहाँको जनसंख्या वृद्धिदर १.६७ रहेको छ।

प्रकाशित मिति : १० चैत्र २०७९, शुक्रबार ११:५०