६ पुष २०८२, आईतवार | Mon Dec 22 2025

भर्ने हाेइन त ? माई खोला हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

९ चैत, काठमाडाैं । माई खोला हाइड्रोपावरकाे आईपीओमा आवेदन दिने आज चैत ९ गते अन्तिम दिन रहेको छ। कम्पनीले फागुन २५ गतेदेखि आयोजना प्रभावित स्थानीय र विदेशमा रहेका नेपाली श्रमिकका लागि आईपीओ जारी गरेकाे थियाे ।

कम्पनीले इलाम जिल्लाका स्थानीयलाई जारी पुँजी ३९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँको १० प्रतिशत हुन आउने ३ करोड ९२ लाख १५ हजार ७०० रुपैयाँबराबरको आईपीओ बिक्री खुला गरेको थियो। जसअनुसार ३ लाख ९२ हजार १५७ कित्ता सेयर जारी गरिएको छ।

कम्पनीले सर्वसाधारणका लागि जारी गरिने सेयरमध्ये १० प्रतिशतले हुन आउने १ लाख ५२ हजार ९४१ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गरेको छ। याे आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिने धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ।

यो आईपीओमा स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म र वैदेशिक रोजगारीमा गएकाले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।

स्थानीयले यो आईपीओमा प्रभु बैंक, सेन्चुरी बैंक र प्राइम कमर्सिल बैंकका इलाम शाखाहरुबाट आवेदन दिन सक्नेछन्। धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलको काठमाण्डौ कमलादीस्थित कार्यालय र क्यापिटलले ल्याएको अनलाइन व्यवस्थाबाट पनि आवेदन दिन सकिनेछ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले भने नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्ति सी–आस्बा सेवामा सहभागी बैंक तथा सीडीएससीको मेरो सेयरबाट आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : ९ चैत्र २०७९, बिहीबार १०:४८