२० आश्विन २०८१, आईतवार | Mon Oct 7 2024

बाध्यताले देश छोड्नुपर्ने अवस्था परिवर्तन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

८ चैत, काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले, बाध्यताले देश छोड्नु पर्ने अवस्था परिवर्तन गर्ने प्रतिबद्धता जनाएका छन् ।
वैदेशिक रोजगारी तथा विदेशमा स्वरोजगारमा रहेका श्रमिकहरूको सामाजिक सुरक्षा योजना शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विदेशमा श्रम गर्ने युवाहरूकै मेहनतले नेपालको अर्थतन्त्र चलेको भएपनि अब बाध्यताले देश छोड्नु पर्ने अवस्था परिवर्तन गर्ने आफ्नो लक्ष्य रहेको बताए ।

उनले भने ‘देशमा आन्तरिक रोजगारी सिर्जना गरी यो उत्पादन शील र सङ्घर्षशील देशको जनशक्तिलाई देशको विकासमा लगाउनु पर्ने चुनौती हामी सबैलाई छ । अहिले बाध्यतावश बिदेसिनु परेको युवाहरूले देशको अर्थतन्त्रलाई सहयोग पुराइरहेको छ । बाध्यताले बाहिर जानु परेको अवस्थालाई परिवर्तन गर्ने छौँ ।’

वैदेशिक रोजगारीका लागि बाहिरिने युवाहरुलाई दुख दिने कार्य सरकारलाई सह्य नहुने बताएका उनले बाध्यताले बाहिरिएका युवाहरूको अवस्था परिवर्तन गर्न देशमा स्वरोजगार सिर्जना गर्न आवश्यक पहल गरिने बताए । उनले वैदेशिक रोजगारी तथा विदेशमा स्वरोजगारमा रहेकाहरूलाई लक्षित गरी सामाजिक सुरक्षा योजनाको शुभारम्भ गरिएको जानकारी दिए ।

उनले देश भित्रै जनशक्तिलाई उत्पादनशील क्षेत्रमा लगाउन आवश्यक पहल गर्ने वचन दिए । सामाजिक सुरक्षा कोषका निर्देशक डा. रोशन कोजुले वैदेशिक रोजगारीमा रहेकाहरूले आवश्यकता अनुसार यो सामाजिक सुरक्षा कोषमा सहभागी हुन सक्ने बताए । उनका अनुसार श्रम स्वीकृति दिँदा, श्रम स्वीकृति नवीकरण गर्दा र नवीकरण गर्ने बेला नभएकाहरू समेत वैदेशिक रोजगार विभाग र सामाजिक सुरक्षा कोषको वेबसाइटमार्फत कोषमा सहभागी हुन सक्नेछन् ।

प्रकाशित मिति : ८ चैत्र २०७९, बुधबार १४:०८