‘निर्मलाको बलात्कारी पुलिस नै रहेछ’ भन्ने भिडियो १० हजारले हेरे तर प्रहरीले हेरेन किन ?
२० असोज, काठमाडाैँ । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्त अहिले केहीका लागि पैसा कमाउने माध्यम बनेकी छन्। युट्युब च्यानलले निर्मलाको नाममा अन्धाधुन्धरूपमा व्यापार गर्दा निर्मलाका परिवारलाई थप मर्माहत बनाएको छ।घटनालाई तोडमोड गरेर युट्युब च्यालनमा राख्ने र पैसाका लागि व्यापार गरिरहँदा पनि नियामक निकाय भने मुकदर्शक भएर बसेको छ। अाजको नेपाल समाचारपत्रमा प्रशान्त वलीले समाचार लेखेका छन ।
‘गृहमन्त्रीकै अगाडि निर्मलाको हत्यारालाई कारबाहीको माग गर्दै कार्यक्रममै उत्रिँदा प्रहरीद्वारा धरपकट’ भन्दै युट्युब च्यानलमा भिडियो अपलोड भएपछि उक्त भिडियो एक लाख बढीले हेरेका छन्। त्यसैगरी ‘यसरी बलात्कार गरेछन् निर्मला पन्तका हत्याराले बाहिरियो डरलाग्दो गोप्य’ भन्दै युट्युबमा लिङ्क सेयर गरिएको छ जुन दृश्य ३ हजार बढीले हेरेका छन्। ‘निर्मला पन्तको बलात्कारी पुलिस नै रहेछ’ भन्दै युट्युबमा हालिएको भिडियो ७ हजार बढीले हेरेका छन्।

‘निर्मला पन्त हत्या प्रकरणमा प्रमाण नष्ट गरेको भन्दै आमाबाउको गुहार’ भन्दै सैघाली खबर अनलाइन टिभीले आफ्नो च्यानलमा भिडियो अपलोड गरेको केही समयमा नै उक्त भिडियो एक लाखले हेरेको सो च्यानलले सगौरव प्रस्तुत गरेको छ। ती च्यानलहरूले आफूलाई अब्बल बनाउन निर्मलालाई अगाडि सार्दै अनर्गल प्रचारसमेत गरेको देखिन्छ। अहिले सयौं युट्युब च्यानलमा निर्मलाको नाम जोडेर लिकंहरू राखिएका छन्।
च्यानलको प्रचार र आम्दानीको स्रोत बढाउन ती च्यानलले लिंक सेयरसमेत गरेको देखिन्छ । युट्युबमा भिडियो सेयरको संख्या धेरै भए तीनदेखि पाँच लाख रूपियाँसम्म कारोबार हुने भएकाले यसो गरेको युट्युब च्यानल चलाउँदै आएकाहरूको दाबी छ।
युट्युब च्यानल भर्खरै सञ्चालन गर्दै आउनुभएका रमेश अर्यालले भन्नुभयो– ‘युट्युब एकाउन्ट खोलेर एउटा भिडियो हालेपछि १० हजार भ्युज पुगेपछि युट्युबले खातामा पैसा हालिदिन्छ भन्ने सुनेर मैले पनि युट्युब च्यानल खोलेको छु।’
नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोख्रेल सूचना सम्प्रेषणमा युट्युब च्यानलले भूमिका खेले पनि तथ्यलाई बङ्ग्याउन नहुने बताउनुहुन्छ।
महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता होविन्द्र बोगटीले युट्युबले गरेको बदमासीको बारेमा उजुरी नपरेको बताउनुभयो। उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘उजुरी पर्यो भने मुद्दा चलाउँछौं। अहिलेसम्म उजुरी परेको छैन। यदि उजुरी परेर दोषी ठहरिए विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत कारबाही हुन्छ।’
१३ वर्षीया बालिका निर्मलाको साउन ११ गते कञ्चनपुरमै बलत्कारपछि हत्या गरिएको थियो। हत्या कसले गरेको हो भन्ने दोषी किटान हुन नसक्दा घटनामा राजनीतीकरण गर्न थालिएको छ। कतिपय गैरसरकारी संस्थाले बजेट नै छुट्याएर निर्मलाका नाममा दिनहुँजस्तो विरोधका स्वरहरू सुनिएको छ। कतिपयले न्यायका लागि सडकमा आवाज उठाएको भए पनि अधिकांश भने विदेशी डोनरको पैसामा रमाइरहेका छन्। नेपाल समाचारपत्रबाट
प्रकाशित मिति : २० आश्विन २०७५, शनिबार ०९:४८












