निर्मला पन्त बलात्कार र हत्या प्रकरणः बम दिदीबहिनीमाथि थप अनुसन्धान गर्न माग
२० असोज, काठमाडाैँ । कञ्चनपुर भीमदत्तनगरकी निर्मला पन्तको हत्या प्रकरणमा बम दिदीबहिनी र मामामाथि अनुसन्धान गर्न मावनअधिकार संगठन नामको एक गैरसरकारी संस्थाले माग गरेको छ । नेपाल मानव अधिकार संगठनले कञ्चनपुरकी निर्मला पन्तको हत्या प्रकरणमा बम दिदीबहिनी र निर्मलाका मामा तीर्थराज भण्डारीलाई पनि अनुसन्धानको दायरामा ल्याउन सरकारसँग माग गरेको हो ।
घटनाको स्थलगत अध्ययन प्रतिवेदन शुक्रबार काठमाडौंमा सार्वजनिक गर्दै संगठनका अध्यक्ष इन्द्रप्रसाद अर्यालले घटनाको सम्पूर्ण जानकारी भएको दाबी गर्दै बम दिदीबहिनी र निर्मलाका मामा भनिने तीर्थराज भण्डारीलाई अनुसन्धानको दायरामा ल्याउन माग गरे ।

संगठनको प्रतिवेदनमा घटनाको वास्तविकतातर्फ सरकारको अनुसन्धान केन्द्रित नभएको दाबी गर्दै एसपी डिल्लीराज विष्ट, बम दिदीबहिनी र निर्मलाका मामा भण्डारीले घटनाको यथार्थ लुकाउन चलखेल गरिरहेको उल्लेख छ। संगठनले घटनास्थलनजिकै रहेको नेपाली सेनाको ब्यारेकलाई पनि अनुसन्धानको दायरामा ल्याउन सरकारलाई सुझाव दिएको छ।
यो संगठन वेपत्ता ३३ किलो सुन तस्करीका नाइके चुडामणि उप्रेती गोरेदेखि नेपाल टुक्राउने अभियानमा लागिरहेका सिके राउतको विशेष सम्बन्ध रहेको छ । राउतलार्इ स्वतन्त्र रूपमा देश टुक्राउने अभियान चलाउन दिन विज्ञप्ति निकाल्ने यो संगठनकै मार्फतबाट गोरेले प्रहरीसामू अात्मसमर्पण गरेका थिए ।
प्रकाशित मिति : २० आश्विन २०७५, शनिबार ०९:३०












