२९ मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

प्रधानमन्त्री केपी ओली र अध्यक्ष प्रचण्डबिच पार्टीभित्रकाे विवादबारे छलफल

१९ असाेज, काठमाडौँ । राष्ट्रसंघीय महासभामा भाग लिई विहीवार स्वदेश फर्किएका प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी ओलीसँग भेटवार्ताका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन् । ओली र प्रचण्डबीच समसामयिक विषयमा छलफल भइरहेको नेकपाका एक नेताले बताए ।

दुई साता अघि प्रधानमन्त्री ओली अमेरिका गएका थिए भने प्रचण्ड पत्नी सीता दाहालको उपचारको लागि सिंगापुर पुगेर असोज १५ मा स्वदेश फर्किएका थिए । दुबै अध्यक्ष विदेशमा भएको समयमा नेकपा भित्र विवाद सिर्जना भएको थियो ।

फाइल फाेटाे

दुई अध्यक्षबीचको भेटमा विदेश भ्रमण पार्टी एकता, नेता माधबकुमार नेपालको असन्तुष्टि, सरकारको कामकारवाहीको विषयमा छलफल हुने जनाइएको छ । नेकपाका दुबै अध्यक्ष केपी ओली र प्रचण्ड विदेशमा रहेको समयमा वरिष्ठ नेता माधव कुमार नेपालले सरकारको काम कारवाहीका विषयमा असन्तुष्टि पोखेको र स्थायी कमिटीका नेतालाई चियापान गराएका थिए ।

नेता नेपाल विदेश रहेको समयमा सचिवालयले प्रदेश इन्चार्ज, सहइन्चार्ज चयन गरेको र आफू पक्षधर नेतालाई पाखा लगाइएको भन्दै असन्तुष्ट बनेका छन् । तर राष्ट्रसंघीय महासभाबाट बिहीबार स्वदेश फर्कने क्रममा प्रधानमन्त्री ओलीले मधाव नेपालसँग आफ्नो २९ वर्षदेखिको सम्बन्ध रहेको भन्दै उनले कवितात्मक रुपमा केही भनेको विषयमा फरक नपर्ने बताएका छन् । ओलीले एक दुई दिनभित्रमा पार्टीको तल्लातह सम्म एकता हुने बताएका छन् ।

प्रकाशित मिति : १९ आश्विन २०७५, शुक्रबार १२:४४