२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

मन्त्री र कर्मचारीलाई अत्यावश्यक बाहेक विदेश भ्रमण गर्न रोक

१ चैत, काठमाडौं । सरकारले अतिआवश्यक बाहेक अवस्थामा बाहेक मन्त्री र उच्च पदस्थ कर्मचारी विदेश भ्रमणमा जान नपाउने निर्णय गरेको छ ।

वैदेशिक भ्रमणमा फजुल खर्च हुन थालेपछि गत मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले अति आवश्यक बाहेक मन्त्री र कर्मचारीलाई विदेश भ्रमणमा जान रोक लगाउने निर्णय गरेको हो ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय बुधबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भ्रमणमा कडाइ गर्ने निर्णय भएको जानकारी गराएकी हुन् ।

सरकारले नेपाल सरकारका मन्त्री र अन्य उच्चपदस्थ कर्मचारीले अब उप्रान्त अति आवश्यक अवस्थामा बाहेक वैदेशिक भ्रमण नगर्ने निर्णय भएको जानकारी गराइन् । त्यसैगरी सरकारले पूर्व मुख्यसचिव लीलामणि पौड्यालको संयोजकत्वमा गठित उच्चस्तरीय तलब सुविधा आयोगको प्रतिवेदन कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा कार्यान्वयन सहजीकरण समिति गठन गर्ने निर्णयसमेत गरेको छ।

त्यसैगरी नेपाल र संयुक्त राज्य अमेरिकाबीच अध्ययन भिसा शुल्कमा एकरुपता कायम गर्ने निर्णय भएको छ। तल्लो लिखु जलविद्युत् आयोजनाको १३२ केभी प्रसारण लाइन निर्माणका लागि वनक्षेत्र उपयोग गर्न दिने निर्णय सरकारले गरेको छ।

सरकारले रामपुर स्वास्थ्य चौकी उदयपुरलाई १० शैयाको आधारभूत अस्पतालमा स्तरोन्नति गर्नका लागि राष्ट्रिय वनक्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको प्रवक्ता शर्माले जानकारी दिइन्। त्यसैगरी सरकारले यति एयरको विमान दुर्घटनाको जाँच आयोगको म्याद ४५ दिन थप गर्ने निर्णयसमेत गरेको छ

प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार १७:०२