१६ असार २०८१, आईतवार | Sun Jun 30 2024

जथाभावी सडक पार गर्ने यात्रुलाई सडकमै सचेतना कक्षा


१ चैत, काठमाडौं । ‘जेब्रक्रसिङ’ तथा आकाशे पुल प्रयोग नगरी सडक पार गर्ने पैदलयात्रीका लागि ट्राफिक प्रहरीले सडकमै सचेतना कक्षा सञ्चालन गरेको छ । पहिलो दिनमै ट्राफिक प्रहरीले ६ सय ३७ पैदलयात्रीलाई सचेतना कक्षामा सहभागि गराई सकेको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जेब्रात्रस तथा आकाशेपुल बिना नै सडक पार गर्ने यात्रु र साईकल चालकलाई ट्राफिक नियम सम्बन्धी जनचेतना दिने उद्येश्यले पैदलयात्री सचेतता अभियानको सुरुवात गरिएको हो ।

जथाभावी सडक पार गर्दा दुर्घटनाको जोखिम उच्च हुने भएको हुँदा पनि यो अभियानलाई प्राथमिकतामा राखिएका कार्यालयका प्रवक्ता एसएसपी राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

उनले भने,‘अभियानका क्रममा सोमबार ६ सय ३७ पैदलयात्रीहरूलाई ट्राफिक प्रहरीले सम्झाई–बुझाई गरिएको छ । अभियान न्युरोड, बालकुमारी, जडिबुटी, सातदोबाटो, जावलाखेल, सल्लाघारी र गठ्ठाघरमा रहेको आकाशेपुलमा चलाइएको थियो । जथाभावी सडक पार गर्ने पैदलयात्रीलाई आकाशेपुल तथा जेब्राक्रस प्रयोग गर्न लगाइएको छ ।’

यस्तै, ट्राफिक प्रहरीले रेड लाईट क्रस गर्ने, जेब्रा क्रसिङमा रोक्ने, फुटपाथमा साईकल चलाउने लगायतका विविध ट्राफिक नियम उल्लंघन गर्ने १ सय ९३ साईकलका चालकलाई पनि सम्झाई–बुझाई गरेको छ । काठमाडौँको कमलपोखरी, थापाथली, बल्खु, बुढानिलकण्ठ, नयाँबसपार्क, नागढुङगा, बौद्ध र भक्तपुरमा साईकलयात्रीलाई सम्झाई बुझाई गरिएको हो ।

अभियानको सन्दर्भिकता बारे एसएसपी भट्टले भने,‘उपत्यकामा गत आवमा मात्रै सवारी दुर्घटनामा ५८ जना र चालु आवको फागुन मसान्तसम्म ४० पैदलयात्रीको मृत्यु भएको छ । यस तथ्यांकले पैदलयात्रु सबैभन्दा बढी जोखिममा रहेको देखाउँछ । त्यसो हुदा यो अभियान सञ्चालन गरिएको हो ।

यसले पैदलयात्रीमा ट्राफिक सचेतता अभिवृद्धिभई ट्राफिक व्यवस्थापन र सहजीकरणमा सहजता ल्याउनेछ ।’ यस अघि ट्राफिक प्रहरीले २०७४ को वैशाख र २०७६ को पुसमा यस्तै अभियान सञ्चालनमा ल्याएको थियो ।

प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार १२:३८