८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

स्ट्यान्डर्ड चार्टर्ड बैंकले किन घटाएन ब्याजदर ?

१ चैत, काठमाडाैं । स्ट्यान्डर्ड चार्टर्ड बैंकले कर्जा तथा निक्षेपको ब्याजदर नघटाई सार्वजनिक गरेको छ । अरू बैंकहरूले चैत १ गतेबाट लागु हुने गरी व्याजदर घटाएर सार्वजनिक गर्दा स्ट्यान्डर्ड चार्टर्ड बैंकले भने फागुन महिनामै कायम ब्याजदलाई निरन्तरता दिँदै आज चैत्र १ गतेदेखि लागु हुनेगरी सुचना सार्वजनिक गरेको छ ।

वाणिज्य बैंकहरुको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घले चैतमा निक्षेपमा शून्य दशमलब चार प्रतिशत र कर्जामा एक प्रतिशत प्रिमियम दर घटाउने निर्णय गरेको थियो । अन्य वाणिज्य बैंकहरुले सोहि अनुरुपमा नयाँ ब्याजदर सार्वजनिक गरेपनि स्ट्यान्डर्ड चार्टर्ड बैंकले भने पुरानै ब्याजदरलाई निरन्तरता दिएको छ ।

बैंकले प्रकाशन गरेको नयाँ व्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ६.४२ प्रतिशतदेखि अधिकतम ८.१५ प्रतिशतसम्म ब्याज दिनेछ । बैंकको मुद्दति निक्षेपको ब्याज न्यूनतम ९ प्रतिशत देखि अधिकतम १२ प्रतिशतसम्म दिने बैंकले सार्वजनिक गरेकाे सूचनामा उल्लेख छ । बैंकले रेमिट्यान्स रेमिट्यान्स मुद्दती खातामा १२ प्रतिशत व्याज दिने भएकाे छ।

अन्य बैंकहरुले बचत खाताको न्यूनतम ब्याजदर ६.४२ प्रतिशतबाट घटाएर ६ प्रतिशतमा कायम गरेता पनि स्ट्यान्डर्ड चार्टर्ड बैंकले भने बचत खातामा न्यूनताम ६.४२ प्रतिशत नै ब्याज दिने छ ।

त्यस्तै बैंकले कर्जामा पनि आधारदरमा ५.७५ प्रतिशतसम्म प्रिमियम दर तोकेको छ । नेपाल बैंकर्स सङ्घले आधारदरमा अधिकतम पाँच प्रतिशतसम्म प्रिमियम दर तोक्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार ०९:२९