१८ असार २०८१, मंगलवार | Tue Jul 2 2024

न्युज बैंक र इमानबीच सहमतिः आर्थिक पत्रकारिताको क्षेत्रमा सकारात्मक अभ्यासको थालनी


२९ फागुन, काठमाडौं । नेपाल न्युज बैंक र आर्थिक मिडिया सञ्चालक सङ्घबीच सहकार्य सम्बन्धी सहमति पत्रमा हस्ताक्षर भएको छ । नेपाल न्युज बैंकको कार्यालय अनामनगरमा संघका पदाधिकारी तथा न्युज बैंक सञ्चालक समितिको उपस्थितिमा सहकार्य सम्बन्धी सहमति पत्रमा हस्ताक्षर भएको हो ।

सहमति पत्रमा न्युज बैंकका तर्फबाट सम्पादक रामनाथ घिमिरे तथा संघका तर्फबाट महासचिव सुरज प्याकुरेलले हस्ताक्षर गरेका छन् । आर्थिक समाचारलाई प्राथमिकता साथ प्रकाशन प्रसारण गरी मुलुकको आर्थिक विकासमा योगदान गर्ने उद्देश्यले गठित संघ र नेपालमा समाचार संस्थाको अन्तर्राष्ट्रिय मापदण्डलाई पुरा गर्ने उद्देश्यका साथ स्थापित नेपाल न्युज बैंकले दुबै पक्षको साझा हित र आर्थिक पत्रकारिताको उन्नयनका लागि सहकार्य गर्ने सहमति भएको हो ।

हस्ताक्षर कार्यक्रममा संघका अध्यक्ष रोयल आचार्य उपाध्यक्ष माधव तिवारी र डिल्ली प्रसाद सापकोटा महासचिव सुरज प्याकुरेल, सहसचिव अमिर लामा लगायतका पदाधिकारी उपस्थित थिए । कार्यक्रममा, संघका उपाध्यक्ष माधव तिवारीले, नेपाल न्युज बैंक र इमानबीचको सहकार्यले नेपाली आर्थिक पत्रकारिताको क्षेत्रमा सकारात्मक अभ्यासको थालनी हुने विश्वास व्यक्त गरे ।

उनले सञ्चारमाध्यम राज्यको प्रतिपक्षी मात्रै नभई आर्थिक विकासका उत्प्रेरक र सहयोगी हुन भन्ने मान्यता स्थापित गर्न पनि यो सहमति सार्थक हुने बताए । त्यस्तै कार्यक्रममा न्युज बैंकका सम्पादक घिमिरेले इमानसंगको सहकार्यले नेपाली आर्थिक पत्रकारिता क्षेत्रमा नयाँ आयाम थपिने विश्वास व्यक्त गरे ।

उनले नेपाल न्युज बैंकसँग सहकार्य गर्ने निर्णय गरेर इमानले खेलेको भूमिकाप्रति आभार प्रकटगर्दै आर्थिक पत्रकारिताको क्षेत्रमा न्युज बैंकले इमानसंग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरे । नेपालमा आर्थिक विधाका सञ्चारमाध्यमहरूको हकहितका साथै आर्थिक पत्रकारिताको उन्नयनका लागि गठित गरिएको इमानमा हाल २२ वटा आर्थिक मिडियाहरू सदस्य छन् ।

नेपालमा अन्तर्राष्ट्रिय स्तरको समाचार संस्थाको अभ्यास गरिरहेको नेपाल न्युज बैंकले लाइभ कभरेजसहित, समाचार, फोटो, भिडियो तथा अर्काइभ सहितको सेवा दिदैँ आएको छ । न्युज बैंकका सम्पूर्ण सामाग्री यसका प्रयोगकर्ताले आवश्यकताको आधारमा अनलाइनबाट सहजै डाउनलोड गर्न सक्ने सुविधा छ।

प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार १६:०९