२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

श्रम अदालतको फैसला कार्यान्वयन नगरेपछि कान्तिपुरको बैंक खाता रोक्का

२८ फागुन, काठमाडौँ । श्रम अदालतको फैसला कार्यान्वयन नगरेको भन्दै नेपाल राष्ट्र बैंकले कान्तिपुर दैनिकको बैंक खाता रोक्का गरेको छ । श्रमजिवी पत्रकार संघ नेपालका अध्यक्ष जन्मदेव जैशीका अनुसार कान्तिपुरका पत्रकारहरू यदुप्रसाद पाख्रेल लगायतको मुद्दामा श्रम अदालतले दिएको आदेश मान्न अस्वीकार गरेपछि कान्तिपुरको बैंक खाता रोक्का गरिएको हो ।

पत्रकारका लागि न्याय दिलाउन सडकदेखि अदालतसम्म धाइरहेको संघका अध्यक्ष जैशीले श्रम कार्यालयले सातादिनअघि नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको र नेपाल राष्ट्र बैंकले पनि कन्तिपुरको प्यान नम्बर (स्थायी लेखा नम्बर) अनुरुप खाता खोलिएका बैंकहरुलाई पत्राचार गरेर तत्कालका लागि खाता रोक्का गरेको जानकारी दिए । कान्तिपुर श्रमजिवी र सञ्चालककोबीचमा पटक पटक विवाद हुँदै आएको छ । बैंक खाता रोक्काको विषयमा जानकारी लिन खोज्दा कान्तिपुरको व्यवस्थापन पक्ष सम्पर्कमा आउन चाहेन ।

श्रम कार्यालयका कर्मचारी बिकेको दाबी 

कान्तिपुर पीडित एक पत्रकार माधव बस्नेतले सामाजिक सञ्जाल मार्फत कान्तिपुर पब्लिकेसन्सले श्रम कार्यालयको कर्मचारी नै किनेको दाबी गरेका छन । सोही कारण श्रम कार्यालयका कर्मचारीले १९ महिनादेखि आफूहरूलाई झुलाइरहेको दाबी बस्नेतले गरेका छन ।

बस्नेतले यस्तो टिप्पणी गरेका छन

कान्तिपुर पब्लिकेसन्सको ज्यादती….

मित्र जन्मदेवजी, मलाई अरु धेरै त केही थाहा भएन, तर श्रम कार्यालय टेकुका कारखाना निर्देशक सुलभ श्रेष्ठकै सामुन्ने कान्तिपुर पब्लिकेसन्सका एक कर्मचारीले ‘तपाईहरु (म र श्रद्धेय रवि मानन्धर दाजु) विरुद्ध ५० लाख खर्च गरेर भए पनि तपाईहरुलाई हराउन तयार छ’ भनेर हाँक दिएका छन् । श्रम कार्यालय टेकुले हामीलाई १९ महिनादेखि झुलाईरहेको छ । मिलेमतोबिना यो संभव छ ?

हामीमाथि कान्तिपुर पब्लिकेसन्सले गरेको ज्यादतीको हिसावकिताव अवश्य हुनेछ । कान्तिपुर पब्लिकेसन्समा कार्यरत ९० प्रतिशत श्रमजीवी (पत्रकार, कामदार) त्यस पब्लिकेसन्सको शैलीप्रति पूर्णत असन्तुष्ट छन् । त्यसका लागि मैंलेभन्दा उनीहरुले नै फोन गरेर गुनासो पोखेका छन् । केही दलाल त जहाँ, जसको पनि हुन्छन् ।

एउटा प्रचलित भनाइ छ, ”जतिसुकै ठूलो सामन्त होस्, ढल्नुभन्दा एक सेकेन्ड पहिलेसम्म पनि शक्तिशाली देखिन्छ ।” सिरोहिया र उनको परिवार अहिले त्यही ठाउँमा छन् । कान्तिपुर पब्लिकेसन्सबाट कमाएको मुनाफा सबै व्यक्तिगत सम्पति बनाइसकेका छन् । तर म र म जस्ताको श्रम शोषणको आँसु उनीहरुलाई लाग्छ, लाग्छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आईतवार २१:५५