१३ असार २०८१, बिहीबार | Thu Jun 27 2024

छोरी हुनुभएकामा एकदमै गर्व गर्नुहोस्ः अभिनेता मदनकृष्ण श्रेष्ठ


२४ फागुन, ललितपुर । वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठले आफूहरु छोरी भएर जन्मेकामा महिलाहरुले गर्व महसुस गर्नुपर्ने बताउनुभएको छ । सफल महिला समुहले आज ‘११३ औँ अन्तरराष्ट्रिय नारी दिवस’ को अवसरमा आयोजना गरेको कार्यक्रममा उहाँले छोरी मानिसमा करुणाका साथै दया र मायाको खानी हुने चर्चा गर्नुभयो । उहाँले भन्नुभयो, “छोरी भनेका हरेक घरका प्रकाश हुन । सबल मुलुक निर्माणमा छोरीको भूमिका असधै महत्वपूर्ण रहेको छ ।

छोरीले छोराले नगरेका काम गरेर देखाएका छन् ।” हरेक मानिसको आमा पनि एक छोरी भएरै आमा भएकी मत राख्दै उहाँले भगवान पछिको दोस्रो भगवान आमा हुने भएकाले छोरीको दर्जा सदैव उच्च रहने जिकीर गर्नुभयो । छोरीले मुलुकका विभिन्न क्षेत्रमा थप नेतृत्वदायि भूमिका निर्वाह गर्न छोरा सरह कठोर भएर अघि बढ्नुपर्ने सुझाव श्रेष्ठले दिनुभएको छ । काठमाडौं उपत्यकाको रक्षा अष्ट मातृका देवीले गरिरहेका भनाई राख्दै उहाँले छोरीको भूमिकामा देवीले नेपालको समेत सुरक्षा गरिरहेका विचार व्यक्त गर्नुभयो ।

विश्वकै अग्लो शिखर सगरमाथा आरोहण गर्न सफल महिला पत्रकार कल्पना महर्जनको प्रशंसा गर्दै कलाकार श्रेष्ठले छोरी मानिसले चाहे जुनसुकै कामपनि पत्ते गर्न सक्ने उदाहरण समेत समस्त नारी माझ दिनुभयो । आरोही महर्जनले म पनि छोरा सरह बलवान छु भन्ने भावना लिएर आफू सगरमाथा आरोहण गर्न सफल भएको मत व्यक्त गर्दै हरेक नारीले आफूलाई बलवान सम्झनुपर्ने हिम्मतको कुरा राख्नुभयो । उहाँले भन्नुभयो, “ छोरा र छोरीमा केही पनि चिजको अन्तर छैन । मात्रै मानिसको भावना र सोचमा फरक पाइएको हो । हामी छोरीहरुले आजको युगमा यस्ता सोच त्यागेर अघि बढेमा जिम्मेवार भूमिकामा रहन पाउनेछौँ । ”

सन् २०१९ मा आफूले सगरमाथाको शिखरबाट ‘शिक्षाकोे माध्यमले समाजमा व्याप्त रहेको बालबिवाहको रोकथाम गर्ने’ उद्घोष गरेअनुरुप मुलुकको चार जिल्लामा काम गरिरहेको महर्जनले जानकारी गराउनुभयो । समुहकी निवर्तमान अध्यक्ष कविता खड्काले महिलाको शत्रु भनेकै महिला भित्र रहेको सोच तथा विचार रहेको भनाइ राख्दै अबको युगमा भय रहित अवस्थामा अघि बढ्दै आफ्नो लक्ष्य पुरा गर्न ध्यान दिनुपर्ने जिकीर गर्नुभयो ।

समुहकी अध्यक्ष सुनिता खड्काले आफूहरुले समुह मार्फत पिछडीएका महिला र बालबालिकाका लागि काम गर्ने उद्धेश्यका साथ संस्था गठन गरी अघि बढिरहेको औँल्याउनुभयो । सो समुहले आज ८ मार्च अर्थात अन्तरराष्ट्रिय नारी दिवसको अवसर पारी ललितपुरको कर्णालीका रुपमा चिनिने दक्षिण ललितपुरका मानिसका जनजीवन बुझ्नाका साथै पर्यटन विकास गर्ने ध्ययेका साथ पैदल यात्राको सुरुवात गरेको छ । पैदल यात्रा अर्थात हाइकिङ्गमा लगभग २५ देखि ३० मानिसले सहभागिता जनाएका थिए । कार्यक्रममा कलाकार यमन श्रेष्ठ लगायतका व्यक्तिको पनि उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : २४ फाल्गुन २०७९, बुधबार ११:४३