निर्मलाको शव भेटिएको ठाउँमा फेरि भेटियो कण्डमको पोको, प्रहरीको अनुसन्धान त्यता किन गएन ?
निर्मला पन्त चिहान मुनि
हत्यारा खुलआम आकाश मुनि
छोरी चेली त्रासको छाँया मुनि
प्रहरी ठूलावडाको बुटमुनि
सरकार दुई तिहाईको दम्भ मुनि
न्यायप्रेमी जनताको सिंहनाद तर
न्याय लिलाम भयो टेबुल मुनि
प्रहरीको काम कुनै आपराधिक घटनाको सत्यतथ्य छानबिन गरी अपराधिलाई पक्राउ गरी कानुनको दायराभित्र ल्याउने हो । जनताको सुरक्षमा जस्तो सुकै कठिनाइमा पनि तम्तयार रहनु हो । तर त्यही प्रहरीले कुनै ठूला घटनालाई नजरअन्दाज गरे कसको भर पर्ने ? मानिसहरुले यो समाजमा दिन प्रतिदिन नैतिकता, मानवता हराउँदै गएको टिका टिप्पणी गर्ने गरेका छन् । हो, यही भनाईलाई चरितार्थ गरेको छ कंचनपुरकी १३ वार्षिय बालिका निर्मला पन्तको बलात्कार पछि गरिएको हत्या प्रकणले ।
यतिवेला घटनाले सिंगो प्रहरी प्रशासनमाथी प्रश्नचिन्ह तेर्साएको छ । सत्य सेवा सुरक्षरणम् को नारा बोकेर हिडेको प्रहरी प्रशासन यतिसम्म गिर्छ कसैले सोचेको पनि थिएन होला । हुनपनि यतिबेला प्रहरी प्रशासन जति बदनाम भएको छ, बिगतमा सुनिएको थिएन । रक्षक नै यसरी भक्षक भएपछि कसको के लाग्यो र ? निर्मला हत्या प्रकरणमा सुरु देखीनै शंकास्पद भुमिकामा देखिएको प्रहरीले आफ्नो छवी धमिल्याउदै गएको छ । घटनामा धेरै प्रमाण प्रहरीले नै नष्ट गरेको खुल्न थालेको छ ।
निर्मलाको शवबाट झिकिएको कपडा स्थानीय प्रहरीले जलाएको गृहमन्त्री रामबहादुर थापाले नै बताइसकेका छन् । घटनास्थलमा अन्य व्यक्तिको बाक्लो उपस्थिति हुने हुनाले थप प्रमाण भेटिन सक्ने अवस्था छैन । अब प्रहरीको अपराधीसँग पुग्ने थप प्रमाण के रहला त ? भनिन्छ घटनाको अनुसन्धान गरिरहेको प्रहरीसँग अहिले निर्मलाको शवबाट निकालिएको ‘भेजिनल स्वाब’ बाहेक अन्य गतिला प्रमाणहरू छैन । शङ्कास्पद व्यक्तिको डिएनए परीक्षण गरी अभियुक्तको खोजी गर्दैछ प्रहरी । तर शंकाको बिषय त के छ भने सुरुदेखी नै प्रमाण नष्ट गर्दे आएको प्रहरीले निर्मलाकै ‘भेजिनल स्वाब’ राखेको छ र त्यही परिक्षण भइरहेको छ भनेर कसरी भन्ने ? प्रहरीले निर्मलाको ‘भेजिनल स्वाब’ राख्दा प्रहरी बाहेक अरु कसको उपस्थिति थियो प्रश्न यहाँ पनि छ ।
मानवता पशुभन्दा निकै तल ओर्लियो
देशमा बलात्कारको किर्तिमान रचियो
विवेकशील मानवको अविवेकी पशुसँग
बरावरीको त के कुरा– अब तुलना हुँदैन
किनकी पशुले कहिल्यै बलात्कार गर्दैन
घटनाका हरेक तथ्यहरू केलाइरहेको प्रहरी अहिले सिसीटिभी क्यामरामा पुगेको छ । भीमदत्त नगरपालिका अन्तर्गत राखिएका १७ वटा क्यामरामध्ये ७ वटा फुटाइएको, बन्द भएको देखिएको भन्दै स्थानीय आक्रोशित बनेपछि प्रहरीको ध्यान सिसिटिभीतिर जान बाध्य छ । तर घटनामा शङ्का लागेर डिएनए परीक्षण गराइएका तत्कालीन जिल्ला प्रहरी प्रमुख डिल्लीराज विष्टका छोरा किरणले घटना भएको दिन ओपेरा होटेलमा पार्टी दिएका थिए । घटनास्थलबाट करिब ३ किलोमिटरको दूरीमा रहेको होटेलमा त्यस दिन के भएको थियो ? को को उपस्थित थिए ? होटलमा एसपी विष्टपुत्र कति समयदेखि कति समयसम्म रहेका थिए ? के निर्मला पनि त्यहाँ पुगेकी थिइन ? प्रहरी अनुसन्धानको लागि ति तथ्य सबैभन्दा महत्त्वपूर्ण देखिएपनि होटलमा जडित क्यामराको फुटेज प्रहरी अनुसन्धानको लागि किन उपलब्ध छैन ? संकाको घेरामा रहेको अर्को प्रश्न हो यो ।
जसको घरबाट निर्मला हराएकी भनिएकी छिन् ती बम दिदी बहिनीलाई प्रहरीले सामान्य सोधपुछ गरेर छाडेको छ । स्थानीय समाजको संका थियो बम दिदी बहिनी बस्दै आएको घरमा यौन धन्दा चल्थ्यो । कञ्चनपुरका ठूला भनाउँदाहरुको क्रिडास्थल थियो बम दिदी बहिनीको घर । तर प्रहरीले त्यो तथ्य पनि बाहिर निकाल्न सकेन । उसो त कञ्चनपुरका एसपी कुबेर कडायतलाई मेरो प्रश्न थियो ।
निर्मलाको शव भेट्दा कुनै प्रमाण नपाउने प्रहरीले निकै दिन पनि एक्कासी कण्डम कसरी भेट्छ ? अनि बम दिदी बहिनीलाई पेशेवर भनिन्छ नी । उत्तरमा एसपी कडायतले भनेका थिए । बम दिदी बहिनी बस्ने घर र घट्नास्थल भनिएको उखुबारीको दुरी खासै छैन । हरेक दिन जसो उखुबारीमा कण्डम भेटिन्छन् । अस्ती मात्रै हामी जादा निकै धेरै मात्रामा कण्डमको पोको फालेको भेटियो ।
यो देख्दा लाग्छ त्यहाँ कतै नजिकै यस्तो धन्दा चल्छ । अफ द रेकर्डमा भनेका एसपी कडायतको भनाइले तपाइले खोजेको प्रश्नको उत्तर सहजै दिन्छ । त्यसैले मेरो प्रश्न प्रहरी प्रशासनलाई के यो बिषय अनुसन्धानको पाटो होइन ? प्रश्नै प्रश्नको घेरामा रुमलिएको छ यतिबेला मेरो देशको प्रहरी प्रशासन । नाटक मञ्चन मात्रै गर्दैछ मेरो देशको सरकार । चोर, गुण्डा, भ्रष्ट र बलात्कारीलाई संरक्षण दिइरहेका छन् मेरो देश चलाउने शासकहरुले । अनि कहाँ र कसबाट न्याय पाउँछन् निर्मलाहरुले ?
(माथी उल्लेखीत एसपी कडायतले अफद रेकर्डमा भनेका शव्दहरु म संग सुरक्षित छन् । कसैको चरित्र हत्या गर्ने मेरो नियत नभएकाले मैले कडायतले भनेका शब्दहरु मोवाइलमा कैद गरेर राखेको छु ।–लेखिका)
प्रकाशित मिति : १६ आश्विन २०७५, मंगलवार २२:२०