१९ चैत्र २०८२, बिहीबार | Fri Apr 3 2026

तीन कम्पनीले आईपीओ निष्काशन गर्दै, कुनकाे कति ?

२३ फागुन, काठमाडौं । यो साता विभिन्न तीन कम्पनीहरूले आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएका छन् । यो साता मोदी इनर्जी लिमिटेड, माई खोला हाइड्रोपावर र सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएका हुन् ।

१) मोदी इनर्जी लिमिटेड

मोदी इनर्जी लिमिटेडले फागुन २५ गतेबाट आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले जारी पुँजी २ अर्ब ९० करोड रुपैयाँको २५ प्रतिशतले हुन आउने ७२ करोड ५० लाख रुपैयाँबराबर प्रतिसेयर १०० अंकित मूल्यको ७२ लाख ५० हजार कित्ता सेयर बिक्री खुला गर्नेछ।

जसमा जारी पुँजीको १० प्रतिशतले हुन आउने २९ लाख कित्ता सेयर पर्वत जिल्लाअन्तर्गत कुश्मा नपा-३, मोदी गापा-५, मोदी नपा-२, मोदी गापा-६ र कुश्मा नपा-८ का बासिन्दाहरुका लागि निष्काशन गरिनेछ।

बाँकी १५ प्रतिशतले हुन आउने ४३ लाख ५० हजार कित्ता सेयरमध्ये १० प्रतिशतले हुन आउने ४ लाख ३५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई, ५ प्रतिशतले हुन आउने २ लाख १७ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने ८७ हजार कित्ता साधारण सेयर कम्पनीका कर्मचारीका लागि छुट्याइएको र बाँकी ३६ लाख १० हजार ५०० कित्ता सेयर सर्वसाधारणका लागि जारी गरिने कम्पनीले जनाएको छ। उक्त आईपीओमा स्थानीयले न्यूनतमा १० कित्तादेखि अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । साथै, वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीले चैत ९ गतेसम्म र स्थानीयले चैत ९ गतेसम्म र साे अवधिमा मागबमोजिम आवेदन नपरेको खण्डमा चैत २४ गतेसम्म आईपीओमा आवेदन दिन सक्नेछन् ।

२) माई खोला हाइड्रोपावर लिमिटेड

माई खोला हाइड्रोपावर लिमिटेडले फागुन २५ गतेदेखि इलाम जिल्लाका आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले इलामका स्थानीयको लागि ३ लाख ९२ हजार १ सय ५७ कित्ता सेयर निष्काशन गर्न लागेको हो । उक्त आईपीओमा इलाम जिल्लाका स्थानीयले मात्र आवेदन दिन सक्नेछन् ।

त्यस्तै १ लाख ५२ हजार ९ सय ४१ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन हुने छ । स्थानीयलाई निष्काशन गरिएको सेयरमा छिटोमा चैत्र ९ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा चैत्र २४ गतेसम्म आवेदन दिन सकिने छ ।

वैदेशिक रोजगारीमा रहेकाले चैत्र ९ गतेसम्म मात्र आवेदन दिन सकिने छ। स्थानीयले न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्ता र विदेशमा रहेका नेपालीले न्युनतम १० कित्ता र अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सकिने छ ।

उक्त आइपीओमा स्थानीयले प्रभु बैंक, सेन्चुरी बैंक तथा प्राइम कमर्सिल बैंकको इलाम शाखाबाट आवेदन दिन सक्नेछन् । यस्तै, बिक्री प्रबन्धक प्रभु क्यापिटल कमलादी काठमाडौं र यसको अनलाइन व्यवस्था बाट पनि आवेदन दिन सकिनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने सी–आस्वा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

३) सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेड

सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले फागुन २६ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले जारी पूँजी ३ अर्ब ३३ करोड २५ लाख रुपैयाँको १५ प्रतिशत अर्थात ८९ करोड ९८ लाख ७५ हजार रुपैयाँ बराबरको ४९ लाख ९८ हजार ७५० कित्ता साधारण सेयर सर्वसाधारणमा निष्काशन गर्न लागेकाे हाे ।

सोमध्ये १० प्रतिशत अर्थात ४ लाख ९९ हजार ८७५ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि र ५ प्रतिशत अर्थात २ लाख ४९ हजार ९३६ कित्ता सेयर सामूहिक लगानी कोषहरुको लागि बाँडफाँड गरिसकेको छ। बाँकी रहेको ४२ लाख ४८ हजार ९८३ कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो। उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। सर्वसाधारणले उक्त आईपीओमा छिटोमा फागुन ३० गते र साे अवधिमा मागबमाेजिम आवेदन नपरेमा ढिलाेमा चैत १० गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीकाे आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डकाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : २३ फाल्गुन २०७९, मंगलवार १२:०१