१३ असार २०८१, बिहीबार | Thu Jun 27 2024

कांग्रेस नेता एवं नुवाकोटका पूर्वजनप्रतिनिधि कृष्णमान घले मृत फेला, अनकन्टार भीरमा भेटियो शव


२२ फागुन, काठमाडाैँ । नेपाली कांग्रेसका नेता कृष्णमान घले मृत फेला परेका छन । घरबाट हराएको पाँच दिनपछि नेता घले ठूलो भीरको मुनी मृत अवस्थामा फेला परेको नुवाकोट कांग्रेसका नेता एवं किस्पाङ गाउँपालिकाका पूर्व अध्यक्ष छत्र लामाले जानकारी दिए ।

घले गत बिहीबारदेखि हराइरहेका थिए । उनको खोजीको क्रममा सोमबार दिउँसो मृत अवस्थामा फेला पारिएको लामाले जानकारी दिए । घले कांग्रेसभित्र इमान्दार छवी भएका नेताको रूपमा परिचित थिए ।

तत्कालीन साल्मे गाविसको पूर्व अध्यक्ष समेत रहेका घले कांग्रेस साल्मे गाउँ कार्यसमितिका पूर्व सभापति पनि हुन । सोमबार दिउँसो १२ बजे म्यागाङ गाउँपालिकाको वडा नम्बर २ को ग्युलमाने नजिकको अनकन्टार भिरमुनि घलेको शव भेटिएको लामाले बताए ।

भीरबाट करिब २ सय मिटर तल शव देखिएको लामाले बताए । शवको छेउसम्म प्रहरी पुग्न सकेपनि शव झिक्न नसकिएको र भोलि शव निकाल्ने काम बिहानैबाट हुने उनले बताएका छन । सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले शव निकाल्ने प्रयास गरिरहेको छ ।

नेपाली काँग्रेस नुवाकोट क्षेत्र नम्बर-२ बाट निर्वचित महाधिवेशन प्रतिनिधि समेत रहेका उनी किस्पाङ गाउँकार्यपालिकाका निबर्तमान कार्यपालिका सदस्य र जिल्ला बिकास समिति नुवाकोटका पूर्व सदस्य समेत हुन ।

नुवाकोट कांग्रेसका सभापति समेत रहेका बागमती प्रदेशसभाका सदस्य रमेशकुमार महतले घलेको रहस्यमय मृत्युकाबारे खोजविन गरेर सत्यतथ्य पत्ता लगाउने कार्यभैरहेको जानकारी दिएका छन ।

प्रकाशित मिति : २२ फाल्गुन २०७९, सोमबार २२:१९