असहाय र वृद्धहरुको १८ लाख रकम गाविस सचिव जीवनकुमार धितालले हाले आफ्नै खातामा
१६ असाेज, काठमाडौं । असहाय र वृद्धहरुको १८ लाख रकम गाविस सचिव जीवनकुमार धितालले हाले आफ्नै खातामा राखेर बसेका छन् । सचिवले ज्येष्ठ नागरिक,असहाय,विधवा,अशक्त, अपाङ्ग तथा बालपोषणको सबै रुपैयाँ आफ्नै खातामा राखेर भ्रष्टाचार गरेका छन् । सिरहा जिल्ला साबिक देवीपुर गाविसका सचिवले एक आर्थिक वर्षको रकम सरकारी खाताबाट झिकेर आफ्नै खातामा जम्मा गरी व्यक्तिगत काममा खर्च गरेको रहस्य खुलेको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमा धितालले आर्थिक वर्ष ०७३/७४ मा सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत आएको रकम यसरी भ्रष्टाचार गरेपछि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। गाविसको खाताबाट लक्षित कार्यक्रमको लागि निकासा भएको १८ लाख ३९ हजार ३ सय ५२ रूपैयाँ ७५ पैसा बैंकबाट निकाली आफ्नो घरव्यवहारमा लगाई दुरुपयोग गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ।
लाखौं रकम झिकी ल्याउने तर वितरण पेस नगर्ने गरेको भन्दै अख्तियारमा उजुरी दायर भएपछि धितालमाथि अनुसन्धान भएको थियो। आयोगको अनुसन्धानमा उनले रकम भ्रष्टाचार गरेको खुलेपछि अख्तियारले नियन्त्रणमा लिएको थियो।
प्रकाशित मिति : १६ आश्विन २०७५, मंगलवार १९:३१












