१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

‘नेपाल प्रहरी-एभरेष्ट बैंक छात्रवृत्ति अक्षय कोष’ स्थापना

२२ फागुन, काठमाडाैं । नेपाल प्रहरी र एभरेष्ट बैंकबीच छात्रवृत्ति अक्षयकोष स्थापनासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रहरी प्रधान कार्यालय नक्सालमा आइतबार आयोजित कार्यक्रममा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहबीच ‘नेपाल प्रहरी–एभरेष्ट बैंक छात्रवृत्ति अक्षय कोष’ स्थापनासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत खालिङले र प्रहरी महानिरीक्षक सिंहलाई रु २५ लाखको चेक हस्तान्तरण गरेका हुन्। कार्यक्रममा प्रहरी महानिरीक्षक सिंहले उक्त सहयोगले प्रहरी कर्मचारीका सन्ततीको शिक्षामा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

उनले एभरेष्ट बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल प्रहरीलाई विभिन्न सहयोग गर्दै आएको बताए।कार्यक्रममा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत खालिङले बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत प्रहरीलाई सहयोग गरेको बताउनुभयो । सम्झौताबाट बढीभन्दा बढी विद्यार्थी लाभान्वित हुने अपेक्षा उनले गरे ।

सम्झौताअनुसार प्रहरी विद्यालयमा अध्ययन गर्ने बहालवाला तथा अवकाश प्राप्त र अमर/सहिद एवं अशक्त प्रहरी कार्यालय सहयोगीदेखि प्रहरी वरिष्ठ हवल्दार दर्जासम्मका उत्कृष्ट अङ्क प्राप्त गर्ने प्रहरी कर्मचारीका दुई जेहन्दार विद्यार्थीलाई निःशुल्क पढाइनेछ ।

आगामी शैक्षिक सत्र २०८० वैशाखदेखि लागू हुने यो सम्झौताअनुसार नेपाल प्रहरी विद्यालयमा अध्ययनरत कक्षा ४ देखि १२ सम्म अध्ययनरत विद्यार्थीलाई उपलब्ध हुनेछ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७९, सोमबार १२:१४