बिपिडब्लु लघुवित्तको आईपीओमा पर्यो करिब १२ लाखको आवेदन, सेयर पाउन भाग्यकै भर !
२२ फागुन, काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडकाे आईपीओमा मागभन्दा बढी आवेदन परेकाे छ । कम्पनीले फागुन १८ गतेदेखि सर्वसाधारणका लागि निष्काशन गरेकाे साधारण सेयर (आईपीओ) मा मागभन्दा धेरै बढी आवेदन परेकाे हाे ।
सिडिएसका अनुसार आइतबार साँझ ५ बजेसम्ममा ११ लाख १३ हजार ५८३ जना आवेदकबाट १ अर्ब २२ करोड ९३ लाख ६५ हजार रुपैयाँ बराबरको १ करोड २२ लाख ९३ हजार ६५० कित्ता सेयरको लागि आवेदन परेको छ । याे सर्वसाधारणका लागि छुट्याएकाे भन्दा १५१.८६ गुणा बढी हाे ।
कम्पनीले सर्वसाधारणका लागि जारी पुँजी ३ करोड रुपैयाँको २६.९८ प्रतिशतले हुन आउने ८० लाख ९५ हजार रुपैयाँ बराबरको आईपीओ बिक्री गर्न गरेकाे हो । जसअनुसार प्रतिसेयर १ सय अंकित मूल्यमा ८० हजार ९५० कित्ता सेयर निष्कासन हुनेछ । यसमध्ये १० प्रतिशत अर्थात् ९ हजार ७ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्काशन गरिसकेको छ ।
यस्तै, जारी पुँजीको ०.५ प्रतिशत अर्थात् १ हजार ५०० कित्ता सेयर कर्मचारीलाई र ५ प्रतिशत अर्थात् १५ हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । बाँकी रहेको ५४ हजार ७५० कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।
उक्त आईपीओ छिटोमा फागुन २३ गते र ढिलोमा चैत २ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सकिने छ । कम्पनीको बिक्री प्रबन्धकमा मेगा क्यापिटल लिमिटेड रहेको छ । कम्पनीकाे आईपीओमा मागभन्दा बढी आवेदन परेका कारण १० कित्ता सेयर पाउन भाग्यमा नै भर पर्नुपर्ने देखिन्छ ।
प्रकाशित मिति : २२ फाल्गुन २०७९, सोमबार ११:५०












