इटहरी उमहानगरद्धारा सर्वसाधारणलार्इ ७० प्रकारका औषधी सहित निशुल्क स्वास्थ्य सेवा
१६ असाेज, इटहरी । दिनदिनै स्वास्थ्य सेवा महंगाे वन्दै गइरहेको वेला इटहरी उपमहानगरले निशुल्क स्वास्थ्य सेवा दिइरहेको छ । इटहरी- ५ मा शहरी स्वास्थ्य प्रवर्धन केन्द्र संचालन गरेर निशुल्क स्वास्थ्य सेवा दिएको हो । उपलब्ध औषधीहरु समेत निशुल्क दिने गरिएको छ । केन्द्रमा एमविविएस डाक्टर,जनस्वास्थ्य अधिकृत,२ जना स्टाफनर्स, १ जना हेल्थ असिस्टेण्ट लगायत ११ जनाले सेवा दिइरहेका छन् ।
विशेषगरि शहरी रहनसहन र जीवनशैलीका कारण हुने रोगहरुको निशुल्क उपचारका लागि शहरी स्वास्थ्य प्रवर्धन केन्द्र सुरु गरिएको इटहरी उपमहानगरका प्रमुख प्रशाशकीय अधिकृत छवि रिजालले जानकारी दिनुभयो । शहरी स्वास्थ्य प्रवर्धन केन्द्रमा विशेष गरि प्रेसर सुगर, वाथ, दम, थाइराइड, मोटोपन, मधुमेह, उच्चरक्तचापका विरामी जचाउन आउने गरेको डा गुन्जन त्रितालले वताउनुभयो । उहाँका अनुसार निशुल्क ओपीडि,उपचार सेवा र निशुल्क औषधीका कारण उपचार गर्न आउने ब्यक्तिहरु उत्साहित हुने गरेका छन । त्यहाँ ७० प्रकारका औषधी निशुल्क दिइने गरेको छ ।
शहरी जीवनशैलीका कारण हुने रोगहरु हुन नदिन र भइहाले रोकथाम गर्नका लागि स्वास्थ्य सल्लाह,परामर्श दिने गरिएको डा त्रितालले वताउनुभयो । निशुल्क खोप कार्यक्रम र निशुल्क ल्याव सेवा प्रदान गर्नका लागि तयारी भइरहेको पनि उहाँले जानकारी दिनुभयो ।
प्रकाशित मिति : १६ आश्विन २०७५, मंगलवार १८:२२