२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

नयाँ क्रान्ति सम्भव छः अध्यक्ष भट्टराई

२१ फागुन, काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले जनआन्दोलनमा सहभागि सबैजना फेरि एकताबद्ध भएर जाने हो भने नयाँ क्रान्ति सम्भव भएको बताएका छन् ।

सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनले आयोजना गरेको जनयुद्ध, सहिद तथा बेपत्ताको योगदान र नेतृत्वको दायित्व विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले जनताको माझमा वैज्ञानिक ढङ्गले नीति र कार्यक्रम बनाएर लाने हो भने देशलाई मात्रै होइन अन्तराष्ट्रिय जगतलाई पनि आफ्नो पक्षमा ल्याउन सकिने दाबी गरे ।

‘जनताको भाषामा आफ्नो कुरा राख्यौ, वैज्ञानिक ढङ्गले नीति र कार्यक्रम हामीले बनायौ भने हामीले देशलाई मात्रै होइन अन्तर्राष्ट्रिय जगतलाई पनि आफ्नो पक्षमा ल्याएर नेपाललाई फेरि नयाँ ढङ्गबाट एउटा क्रान्ति सम्पन्न गर्न सक्छौ र सम्भव छ ।’ उनले आन्दोलनपछि शान्ति प्रक्रियामा आउने निर्णय सही भएको भन्दै त्यसपछि एकताबद्ध भएर संविधान निमार्ण गर्न नसक्नु ठूलो कमजोरी भएको स्वीकारे ।

‘शान्ति प्रक्रियामा आएपछि हामीले सबै विषयको मूल्याङ्कन गरेर त्यही बेला पहिलो संविधान सभाबाट संविधान बनाएर हामी जानु पर्ने नगएको हाम्रो कमजोरी थियो ।’ उनले त्यो समयमा आफ्नो नेतृत्वमा सरकार बनेको भए, संविधान जारी गर्ने, सेना समायोजन गर्ने र अहिले शहीद बेपत्ता आयोगको जुन काम बाँकी छ त्यो सबै काम सम्पन्न हुने पनि उल्लेख गरेका छन् ।

सार्वभौमसत्ता नेपाली जनतामा ल्याउने सम्भावना देखेर चालेको त्यो कदम उपयुक्त र आवश्यक भएको भन्दै त्यसलाई संघीय लोकतान्त्रिक गणतन्त्रसम्म ल्याएर जनताको सार्वभौमसत्ता स्थापित गरेर जुन संविधान जारी गरेका थियौ त्यो नेपालको एउटा महान क्रान्ति नै भएको उनको भनाई पनि रहेको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आईतवार १६:१७