२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

एमालेले गरेका काम जनतासम्म पुर्याउन ‘मिसन ग्रासरुट’ : सचिव रायमाझी

२० फागुन, अर्घाखाँची । नेकपा (एमाले) का केन्द्रीय सचिव टोपबहादुर रायमाझीले आफ्नो पार्टीले सरकारमा हुँदा गरेका काम जनतासम्म पुर्याउने उद्देश्यले ‘मिसन ग्रासरुट’ अभियान सञ्चालन गरिएको बताएका छन् ।

प्रेस चौतारी नेपाल, अर्घाखाँची शाखाले सन्धिखर्कमा आज आयोजना गरेको पत्रकार सम्मलेनमा सचिव रायमाझीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने एमालेको मुख्य लक्ष्य रहेको बताए । उनले आउँदो निर्वाचनमा एमालेले बहुमत ल्याउने अभियानका साथ देशभरी ‘मिसन ग्रासरुट’ कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गरे ।

एमालेका स्थायी कमिटी सदस्य तथा विदेश विभाग प्रमुख डा राजन भट्टराईले राष्ट्रपतिको निर्वाचनमा पार्टीको ह्वीप नलाग्ने भएकाले राष्ट्रपतिमा सुवास नेम्वाङ विजयी हुने दाबी गरे ।

वर्तमान गठबन्धनका कारण देशमा आर्थिक सङ्कट उत्पन्न भएको उनको आरोप थियो । पत्रकार सम्मलेनमा एमाले पोलिट्ब्युरो सदस्य सूर्य थापा, विमला घिमिरे, जिल्ला अध्यक्ष पिताम्वर भुसाललगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : २० फाल्गुन २०७९, शनिबार १५:२०