कञ्चनपुरमा निर्मलाका निम्ति न्याय माग्दै नेविसंघले फुटायाे सरकारी गाडी
१६ असोज, काठमाडौं । कञ्चनपुरमा निर्मलाका निम्ति न्याय माग्दै नेविसंघले अाज सरकारी गाडी फुटाएकाे छ । १३ वर्षीया बालिका पन्तको बलात्कारपछि हत्या भएको घटनाको दोषी पत्ता लगाउन आह्वान गरिएको बन्दका कारण त्यहाँको जनजीवन अस्तव्यस्त बनेको छ ।

बन्दका कारण बजार, शैक्षिक संस्था, कलकारखाना, उद्योग लगायत यातायात पनि ठप्प छ । पन्तको हत्यारालाई पत्ता लगाउन माग गर्दै बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म बन्द आह्वान गरिएको नेपाल विद्यार्थी संघले जनाएको छ । संघले बन्दको अवज्ञा गरेको आरोपमा जिल्ला सरकारी वकिल कार्यालय, कञ्चनपुरको गाडीमा पनि तोडफोड गरेको छ ।
बन्दकर्ता युवाले बा २ झ २७१५ नम्बरको कार्यालयको गाडी तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले जनाएको हो । बन्दकर्ताले स्थानीय एसटीएस टेलिभिजनको क्यामेरा समेत फुटाएका छन् । बन्दकर्ताले सगरमाथा टेलिभिजनका पत्रकार चन्द्रप्रकाश जोशीलाई समेत कुटपिट गरेको जनाइएको छ ।
प्रकाशित मिति : १६ आश्विन २०७५, मंगलवार १३:४०












