१३ असार २०८१, बिहीबार | Thu Jun 27 2024

दैनिकीका प्रधानसम्पादक तिवारी र वरिष्ठ पत्रकार जगत नेपाललाई इन्जा वाैद्धिक पत्रकारिता पुरस्कार


१७ फागुन, काठमाडौं । नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सन्जाल (इन्जा)ले हरेक बर्ष प्रदान गर्दै आएको वौद्धिक अनुसन्धानवृत्ति पुरस्कार  दैनिकी डटकमका प्रधान सम्पादक माधवप्रसाद तिवारी र साँढे दुई दशकदेखि पत्रकारितामा क्रियाशिल त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक वरिष्ठ जगत नेपालले प्राप्त गरेका छन ।

स्वर्गीय शुकदेव शाहको स्मृतिमा स्थापना भएको उक्त बौद्धिक अनुसन्धानवृत्ति पुरस्कार त्रिभुवन विश्वबिद्यालयबाट पत्रकारिता तथा आम सन्चार बिषयमा दर्शनार्चाय-विद्यावारिधी (एमफिल-पिएचडी) गर्दै गरेका माधवप्रसाद तिवारी र पिएचडी गर्दै गरेका नेपाललाई दिइएकाे हाे । तिवारी र नेपाललाई बुधबार काठमाडाैंमा आयोजित विशेष समारोहकाबीच सभामुख देवराज घिमिरेले साे पुरस्कार हस्तान्तरण गरे ।

तिवारीले २०५७ सालबाट पत्रकारिता शुरु गरेका थिए । भित्ते पत्रिकाबाट पत्रकारिता शुरु गरेका उनले रुपरेखा साप्ताहिक, माउन्टेन टेलिभिजन, अनलाइनखबर डटकम, ककनी पोष्ट साप्ताहिक, विज एफएम, आजको न्युज डटकम र हाल दैनिकी डटकमको प्रधानसम्पादकको रुपमा कार्यरत छन् ।

यसअघि, त्रिभुवन विश्वविद्यालय पत्रकारिता बिभागका प्रमुख चिरन्जिवी खनालको संयोजकत्वमा गठित समितिले तिवारीलाई इन्जा वौद्धिक अनुसन्धानवृत्ति पुरस्कार दिने घोषणा गरेको थियाे । यसअघि इन्जाले उक्त पुरस्कारबाट त्रिभुवन विश्वविद्यालयको पत्रकारिता केन्द्रीय विभागका उपप्राध्यापक वरिष्ठ पत्रकार देवराज अर्याल र वरिष्ठ पत्रकार कपिल काफ्लेलाई प्रदान गरेको थियो ।

यस्तै खोजी पत्रकारिता पुरस्कार यस वर्ष कान्तिपुरकर्मी मातृका दाहाल र आईएनएस डट कमकी तारा वाग्लेलाई प्रदान गरिएको छ । त्यस्तै इन्जा ग्रामीण पत्रकारिता पुरस्कार रेडियो समग्र १०७ सिरहा र सरिता चलाउनेले पाएका छन् । त्यस्तै फोटो पत्रकारिता पुरस्कारबाट नरेन्द्र श्रेष्ठ र सुरेशकुमार श्रेष्ठ पुरस्कृत भएका छन् ।

यसैगरी वरिष्ठ पत्रकारहरू रघु मैनाली‚ किरण वैद्य‚ कुमार यात्रु‚ जागरण मिडिया सेन्टरकी अध्यक्ष कमला विश्वकर्मा‚ शंकर भट्टराई, विजया साह र प्रदीप गुरुङलाई सभामुख घिमिरेले इन्जा सम्मान प्रदान गरेका छन् ।

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार १५:४५