२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

प्रदेश १ को नाम कोसी राख्न एमालेले दर्ता गरायो प्रस्ताव

१७ फागुन, विराटनगर । नेकपा एमालेले प्रदेश १ को नाम कोसी राख्न प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गरेको छ । बुधबार एमाले प्रदेशसभा सदस्य रामबहादुर मगरले संसद सचिवालयमा प्रस्ताव पत्र दर्ता गर्दै प्रदेशको नाम कोशी राख्नु पर्ने माग अघि सारेका हुन् ।

 मगरको प्रस्तावलाई नेपाली काँग्रेसका सदस्य भूमीप्रसाद राजवंसी र एमालेका निरन राईले समर्थन गरेका छन् । प्रस्तावमा यस प्रदेशमा बस्ने सम्पूर्ण जातजाती र धर्मीहरु कोशी नदीको प्रवाह भित्रै पर्ने भएकोले प्रदेशको नाम कोशी राख्नु उपयुक्त हुने तर्क गरिएको छ ।

प्रस्तावक मगरले दर्ता गरेको पत्रमा यस्तो उल्लेख भएको छ ‘प्रदेशले आफ्नो नामाकरण प्रदेशसभाबाट आफैंले गर्नुपर्ने दायित्व पुरा गर्नका लागि यस प्रदेशमा विकसित भएका हिन्दु धर्म,बौद्ध धर्मको दर्शन,किरात सभ्यता,मिथिला सभ्यता,लिम्वूवान संस्कृति,विराट क्षेत्रको इतिहास,कोच संस्कार र संस्कृतिलाई समेट्ने गरी तथा कोशी नदी र यसका शाखा नदीहरुमै एतिहासिक,धार्मिक तथा जातजाती,भाषा,सभ्यता र संस्कृतिको विकास भएकोले यस क्षेत्रको मूल आधारको रुपमा हिमाल देखि पहाड र तराईंको भूभागमा कोशी नदी प्रवाह क्षेत्र भित्रै सम्पूर्ण अवसथाको वर्तमान र भावी विकास र समृद्धि समेत जोडिएको हुनाले यस प्रदेशको नाम कोशी प्रदेश राख्न उपयुक्त ठानिएको छ । ’ नेकपा माओवादी केन्द्रले पनि कोसी प्रदेशको पक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ । पहिचानसहितको छुट्टै नाम प्रस्ताव गर्ने तयारी गरेपनि दलको बैठकबाट कोसीको पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार १३:०८