२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

संविधान र प्राप्त उपलब्धिको रक्षाका लागि सहमति अपरिहार्य : निधि

१६ फागुन, जनकपुरधाम । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले संविधान र प्राप्त उपलब्धिको रक्षाका लागि परिवर्तन पक्षधर दलहरूबीचको सहमति अपरिहार्य रहेको बताएका छन् । जनकपुरधाममा आयोजित नेपाल प्रेस युनियन मधेस प्रदेश कार्यसमितिको पदस्थापन कार्यक्रममा पार्टी पूर्वउपसभापति निधिले पछिल्लो परिवर्तनको प्रमुख राजनीतिक शक्ति नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) केन्द्रबीच दूरी बढ्दा देशले पनि दुःख पाउने भएकाले पुस १० को ‘कोर्स करेक्सन’ गर्दै राष्ट्रपतिका लागि एक ठाउँमा उभिएको बताए ।

“नेपाली कांग्रेस, माओवादी केन्द्रलगायतका दलहरू चुनावी गठबन्धन बनाएर आमनिर्वाचनमा गयौँ तर पुस १० पछि एक ठाउँमा रहेनौँ । त्यसको गल्ती हामी सबैले महसुस गरिसकेका छाैँ”, उनले भने, “नेपाली कांग्रेसले पुस २६ गते माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएर ‘कोर्स करेक्सन’ का लागि प्रारम्भ ग¥यो र राष्ट्रपतिमा आठ दलको सहमति त्यसको परिणाम हो । यसबाट सबै लोकतन्त्रवादी शक्ति र जनता उत्साहित भएका छन् ।”

उनले सम्पूर्ण दलको सहमतिमा राष्ट्रपति चयन गर्ने चाहनामा नेकपा (एमाले) बाधक भए पनि संसद्मा रहेका १० दल सहमतिका लागि एक ठाउँमा उभिने विश्वास व्यक्त गरे । “आठ दल एक ठाउँमा उभिसकेका छौँ, आम जनता पार्टीले राष्ट्रपतिमा समर्थन जनाइसकेको छ । सरकारलाई समर्थन कायमै राखेकाले राष्ट्रिय स्वतन्त्र पार्टी पनि थपिने हाम्रो विश्वास छ”, निधिले भने ।

उनले प्रधानमन्त्री दाहालले जुनसुकै दिन विश्वासको मत लिन चाहे पनि कुनै समस्या नरहेको बताए । कार्यक्रममा नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्साल, युनियनका उपाध्यक्ष अनिल कर्ण, नेता रामजी दाहाललगायतले आआफ्नो धारणा राखेका थिए ।

माघ २० गते बाराको कलैयामा भएको अधिवेशनबाट सत्यप्रकाश श्रेष्ठको अध्यक्षतामा मधेस प्रदेश कार्यसमिति निर्वाचित भएकोमा मङ्गलबार पदस्थापन गरिएको र मङ्गलबार नै प्रदेश कार्यसमितिको पूर्ण बैठक पनि राखिएको प्रदेश अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : १६ फाल्गुन २०७९, मंगलवार १९:३२