१३ असार २०८१, बिहीबार | Thu Jun 27 2024

मानवअधिकार परिषद्को ५२औँ बैठकमा नेपाली टोली सहभागी, गोविन्द बन्दीले भोलि सम्बाेधन गर्ने


१६ फागुन, काठमाडाैँ । संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्को ५२औँ नियमित बैठकमा नेपाली टोलीले पनि सहभागिता जनाएको छ । प्रधानमन्त्री प्रचण्डका शान्ति तथा मानवअधिकार सल्लाहकार गोविन्दप्रसाद शर्मा कोइराला (बन्दी)को नेतृत्वमा मानवअधिकार परिषद्को ५२औँ नियमित बैठकमा नेपाली टोलीले सहभागिता जनाएको संयुक्त राष्ट्र संघ र अन्य अन्तर्राष्ट्रिय संगठनहरूमा नेपालको स्थायी नियोगले जनाएको छ ।

मानवअधिकार परिषद्का अध्यक्ष एच.ई. भाक्लाभ बालेकले परिषद्को सत्रको उद्घाटन गरेका छन । उद्घाटन सत्रलाई संयुक्त राष्ट्र महासभाका अध्यक्ष एच.ई. कासाबा कोरोसी, संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेर्रेस, मानव अधिकारका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त भोल्कर टर्क र स्विट्जरल्याण्डको संघीय विदेश विभागका प्रमुख इग्नेजियो क्यासिस, उद्घाटन सत्रमा राष्ट्रका प्रमुख वा सरकार प्रमुखहरूका साथै संयुक्त राष्ट्र संघका १२५ भन्दा बढी सदस्य राष्ट्रहरूका मन्त्रीहरू र विशिष्ट व्यक्तिहरूले सम्बोधन गरे।

काउन्सिलले ‘संयुक्त राष्ट्र युवा रणनीतिको पाँच वर्षको प्रतिबिम्ब (युवा २०३०): अर्को चरणका लागि खाका नक्साङ्कन’ भन्ने विषयमा मानव अधिकारको मूलप्रवाहमा वार्षिक उच्चस्तरीय प्यानल छलफल समेत आयोजना गरेको थियो ।

प्यानलमा बोल्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव उदयराज सापकोटाले विकासोन्मुख देशहरू विशेषगरी अल्पविकसित राष्ट्रहरूमा युवा अधिकारको उपभोगमा महामारी र अन्य विविध सङ्कटले पार्ने प्रभावबारे प्रकाश पारे। उनले दिगो विकासका लागि २०३० एजेन्डा हासिल गर्न युवाहरूलाई सशक्तिकरण र सार्थक समावेशी सुनिश्चित गर्न युवा २०३० को कार्यान्वयनलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।

प्रधानमन्त्रीका शान्ति तथा मानवअधिकार सल्लाहकार कोइरालाले भोलि परिषद्को उच्चस्तरीय बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । नेपाली प्रतिनिधिमण्डलमा सचिव सापकोटा, परराष्ट्र मन्त्रालयका सहसचिव सेवा लम्साल, राजदूत/स्थायी प्रतिनिधि र जेनेभास्थित स्थायी नियोगका अन्य अधिकारी सहभागी रहेका छन । मानव अधिकार परिषद्को ५२औँ नियमित सत्र आज जेनेभामा सुरु भएको छ र ४ अप्रिल २०२३ मा समापन हुनेछ।

प्रकाशित मिति : १६ फाल्गुन २०७९, मंगलवार १६:०८