एडिलेडमा होली फेस्टिवल मार्च ५ मा, यो काम गर्न चाहि नपाइने
१६ फागुन, एडिलेड । रङहरुको पर्व होली अर्थात फागु पुर्णिमा यस पर्व पनि एडिलेड नेपालको आयोजनामा मार्च ५ मा `होली फेस्टिवल एडिलेड´ आयोजना हुने भएको छ । नेपाल चलचित्र क्षेत्रका हस्ति राजेश हमाल, गायक राजेश पायल राई, सुदिन पोखरेल लगायतको उपस्थितिमा हुने आयोजक संस्था एडिलेड नेपालका अध्यक्ष पुष्कर कोइरालाले बताएका छन् ।
एडिलेड नेपालले २०१८ देखी होली फेस्टिवल गर्दै आएको छ । यस वर्ष कलाकार गायक राई र पोखरेलका साथमा बिक्रम बराल, निहारिका ज्ञवाली, सुन्डी दोर्जे, सानु लामा, रुक्ष व्यान्ड, आर्ट फर आर्ट सेक सहित एडिलेडमा बसोबास गर्ने अन्य कलाकारहरु रहेका छन् ।
फेस्टिवल स्टेट´ उपनाम पाएको साउथ अष्ट्रेलिया राज्यको म्यारियन काउन्सिलले एडिलेड नेपालद्वारा २०१९मा आयोजित होली फेस्टिवललाई ` इभेन्ट अफ दि एयर´ समेत घोषणा गरेको थियो । फेस्टिवलको तेस्रो संस्करणमा दुई हजार भन्दा बढि उपस्थित भएकाले यस बर्ष चार हजार भन्दा धेरैको उपस्थिति हुने आयोजकहरुले आपेक्षा गरेका छन् । जन समुहको उपस्थिति र पर्वको महत्व बुझेर नै राज्य सरकारले समेत सहयोग गरेको छ । बहुसांस्कृतिक मुलुक अष्ट्रेलियामा हिमाली राज्य नेपालको पर्वमा गैर्ह नेपालीहरुको समेत उपस्थिति हुने गरेको छ ।
कार्यक्रमको महत्व दर्शाउदै एडिलेड नेपालका अध्यक्ष कोइरालाले हाम्रो नेपाली रीतिरिवाज र परम्परा लाई कायम राख्दै नयाँ पुस्ताहरु बीचमा पनि उजागर गर्ने उद्देश्यका साथ आयोजना गर्न लागिएको बताए । उनले यस कार्यक्रममा एकआपसमा रंग लगाएर एकदिन भएपनि आफ्ना समस्या तथा तनावहरुलाई बिर्सेर एक आपसमा खुशी साटासाट गर्ने बताए ।
कोइरालाले एकआपसमा रंग दलेर माया तथा सद्भाव साटासाट गर्नुका साथै कार्यक्रममा सांगतिक तथा सांस्कृतिक प्रस्तुति, व्यवसायिक स्टल साथमा विभिन्न खानाका परिकारहरु समेत रहने उल्लेख गर्दै कार्यक्रमको प्रवेश निःशुल्क रहेको जानकारी दिएका छन् । कार्यक्रम बिहान १० बजेबाट सुरु भएर साझ ८:०० बजेसम्म चल्नेछ ।
कार्यक्रममा आफ्नो व्यक्तिगत रुपमा रङ लिएर जान चाहि नपाईने भएको छ । अध्यक्ष कोईरालाले जुन पायो त्यहि रंगले छालामा असर गर्ने भएकाले काउन्सिलको परिक्षण र अनुमति अनुसारको कार्यक्रम स्थलमा नै बिक्रीका लागि राखिएको रंग मात्र प्रयोग गर्नु पर्ने बताए ।
प्रत्येक वर्षको फाल्गुण शुक्ल पूर्णिमा दिनमा मनाइने हिन्दूहरूको प्रमुख चाड हो – फागु पुर्णिमा । हिन्दु धर्मग्रन्थमा अनुसार कश्यप ऋषीकी पुत्री, असुर हिरण्यकश्यपकी बहिनी थिइन होलिका । विष्णु पुराणमा उल्लेखीत कथाअनुसार होलिकालाई आगोमा नजल्ने बरदान थियो । यता हिरण्यकश्यप भने भगवान विष्णुका घोर विरोधी थिए । तर, उनका छोरा भक्त प्रल्हाद विष्णुका भक्त थिए । आफ्नो छोरा नै आफ्नो विरोधीको भक्त भएको हिरण्यकश्यपले रुचाएनन् । हिरण्यकश्यपले विष्णुको भक्त भएको आफ्नो छोरालाई मार्ने षड्यन्त्र रचे ।
छोरालाई आगोमा जलाएर मार्ने उदेश्य अनुसार हिरण्यकश्यपले आफ्नी बहिनी होलिकासँग मद्धत मागे । होलिका प्रल्हादलाई काखमा सुताएर आगोको ज्वालामा बस्न तयार भईन् । आफ्ना भक्तलाई षडयन्त्रपूर्वक मार्न लागिएको चाल पाएपछि विष्णु भगवानले आगोमा बसेकी होलिकाको काखबाट भक्त प्रल्हादलाई बचाए र होलिकालाई आगोमा डढाएर मारे । विष्णुले भक्त प्रल्हादलाई बचाएर होलिकालाइ मारेको खुसियालीमा होली मनाइन्छ । होलीको एक दिन पहिला राती होलीका दहन गरिन्छ । राती होलीका दहन गरिसके पछि विहान रंग एक अर्कामाथि दल्ने चलन छ ।
होली पर्वले वसन्त ऋतुको आगमनको समेत उद्घोष गर्दछ ।

प्रकाशित मिति : 15:33









