२७ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025

मकर जितुमाया सुरी हाइड्रोपावरमा आवेदन दिने आज अन्तिम दिन

१५ फागुन, काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनीकाे आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेकाे छ । कम्पनीले माघ १५ गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण सेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेकाे थियाेे ।

कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि निष्कासन गरेको आईपीओमा आवेदन दिने आज फागुन १५ गते अन्तिम दिन हो । आयोजना प्रभावित स्थानीयले आज कार्यालय समयसम्म मात्रै आईपीओमा आवेदन दिन पाउनेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीलाई माघ २९ गतेसम्म आवेदन दिने समय रहेको थियो ।

कम्पनीले जारी पूँजी ७६ करोड रुपैयाँको १० प्रतिशत अर्थात ७ करोड ६० लाख रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका ७ लाख ६० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको हो। सोमध्ये अति प्रभावित क्षेत्र दोलखाको गौरी शंकर गाँउपालिकाको वडा नं. ५ र ६ का बासिन्दाहरुमा ३ लाख ४ हजार कित्ता सेयर बाँडफाँड गरिनेछ भने प्रभावित क्षेत्र दोलखा जिल्लाको गौरी शंकर गाँउपालिका वडा नं. १, २, ३, ४, ७ ८ र ९ का बासिन्दाहरुमा ३ लाख ४२ हजार कित्ता र सामान्य प्रभावित क्षेत्र दोलखा जिल्लाको विगु गाँउपालिकाका सम्पूर्ण वडाका बासिन्दाहरुमा १ लाख १४ हजार कित्ता शेयर बाँडफाँट गरिने कम्पनीले जनाएको छ।

उक्त आईपीओमा स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। आयोजना प्रभावित स्थानीयले प्रभु, लक्ष्मी र सेन्चुरी बैंकको स्थानीय शाखाबाट आवेदन दिन सक्नेछन् । यस्तै बिक्री प्रबन्धक प्रभु क्यापिटलबाट पनि आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार ११:५१