भर्ने हाेइन त ? फागुन २६ गतेदेखि सर्वसाधारणका लागि ४२ लाख कित्ता आईपीओ निष्काशन हुँदै
१५ फागुन, काठमाडाैं । सानिमा मिडल तमोर हाइड्रोपावर कम्पनी लिमिटेडले फागुन २६ गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्काशन तथा बिक्रि खुल्ला गर्ने भएको छ ।
कम्पनीको जारी पूँजी तीन अर्ब ३३ करोड २५ लाखको १० प्रतिशत अर्थात ३३ लाख ३२ हजार ५०० किता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुलाई बाँडफाँड गरिएको र १५ प्रतिशत अर्थात ४९ करोड ९८ लाख ७५ हजार रुपैया बराबरको १०० रूपैयाँ अंकित दरको ४९ लाख ९८ हजार ७५० किता साधारण सेयर मध्ये १० प्रतिशत अर्थात ४ लाख २९ हजार ८०५ कित्ता सेयर वैदेशिक रोजगारीमा गएका नेपालीहरुको लागि र ५ प्रतिशत अर्थात् २ लाख ४९ हजार ९३० कित्ता सेयर सामूहिक नगानी कोषहरुको लागि बाँडफाँड गरी बाँकी रहेको ४२ लाख ४८ हजार ९३८ कित्ता सेयर सर्वसाधारणमा निष्काशन गर्न लागिएकाे हाे ।
उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्मका लागि छिटोमा फागुन ३० गतेसम्म र ढीलोमा चैत्र १० गतेसम्म आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।
प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार १०:२७












