१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

नेपाली पाठशालाद्धारा कक्षा १२ उत्तिर्ण गर्ने नेपाली विद्यार्थीहरुको सम्मान

१४ फागुन, एडिलेड । नेपाली पाठशाला, एडिलेडले साउथ अष्ट्रेलियाबाट कक्षा १२ उत्तिर्ण गर्ने १३ नेपाली मुलका छात्र छात्राहरुलाई र विद्यालयमा भाषा अध्ययन गरिरहेका बालबालिकाहरुको सम्मान गरेको छ ।

बालबालिकाहरुलाई नेपाली भाषा अध्यापन गराउनका लागि २००८ मा स्थापित नेपाली पाठशालाले विगत ४ बर्ष देखी साउथ अष्ट्रेलिया भित्रका कक्षा १२ उत्तिर्ण गर्ने नेपाली मुलका विद्यार्थीहरुको सम्मान साँझको आयोजना गरेर सम्मान गर्दै आएको छ । सम्मान कार्यक्रमका प्रमुख अतिथि एथ्नीकल स्कुल एशोसियसनका ब्रेट शटलवर्थले विद्यार्थीहरुलाइ बधाई दिदै बहुसांस्कृतिक देश अष्ट्रेलियामा नेपाली भाषालाई अगाडि बढाउन नेपाली पाठशालाको भुमिकाको प्रशंसा गरेका थिए । उनले पाठशालामा अध्ययन गर्ने ८० जना बालबालिकाहरुलाई प्रमाण पत्र वितरण गरेका थियो ।

कार्यक्रममा विद्यालयकी प्रिन्सिपल बिना धमलाले विद्यालयले भाषा शिक्षणका अलावा नेपाली संस्कृति, पर्वहरुको जानकारी दिने गतिविधी सहित खेलकुदहरु गर्दै आएको बताउदै विद्यालयमा स्वयंसेवकको भुमिकामा काम गर्न ईच्छुकहरुलाई सम्पर्क गर्न आग्रह गरेकी थिईन । यसै गरि कक्षा १२ उत्तिर्ण गरेर विद्यार्थीहरुलाई पाठशालाका अगुवा तथा शिक्षक शिक्षिकाहरुले सम्मान पत्र तथा मायाको चिनो प्रदान गरेका थिए । सम्मानित हुनेहरुमा श्रीषराज जोशी, माया दंगल, गौरव खत्री, आकाश कँडेल, हर्षल मिश्रा, प्रसुन शर्मा, राजश्री उपाध्याय, निर्वाण बज्राचार्य, आयशा घिमिरे क्षेत्री, रेकिन शाक्य, प्रणव तुलाधर, समता कँडेल र भूमी श्रेष्ठ रहेका गरिएको थियो ।

सम्मानित विद्यार्थीहरुले सम्मानित गर्ने पाठशाला र प्रवासमा आफ्नो अध्ययन, काम सबै गर्दै १२ सम्म अध्यापन गराउने मातापिताहरुलाई धन्यवाद व्यक्त गरेका थिए । उनीहरुले सानो हुदा नेपाली भाषा सिकाउनु हुने शिक्षक शिक्षिकाहरु प्रति पनि आभार व्यक्त गरेका थिए ।

खेलकुद लगायत सामाजिक क्षेत्रमा समेत क्रियाशिल पाठशालाले गत वर्ष सम्पन्न भेट्रान कप फुटवलको व्यवस्थापन गर्ने सदस्य राजिप बस्नेतलाई सम्मान गरेको थियो । सम्मानित बस्नेतले स्वस्थ जिवनका लागि खेलकुद आवश्यक भएकाले भेट्रान कप आयोजना गरिएको र आगामी बर्ष यसलाई अझ भव्य रुपमा आयोजना गर्ने बताए ।

कार्यसमिती सदस्य सरोज खनालको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको समापन गर्दै कार्यक्रमका सभापति तथा नेपाली पाठशालाका अध्यक्ष अंकुर उपाध्यायले सहयोगीहरुलाई धन्यवाद व्यक्त गर्दै विगतका संचालन भएर कोरोना पछि बन्द रहेको छलफलको फोरम `ज्ञानगुनको चौतारी´ पुन शुरु गर्ने समेत बताए ।

समापनमा निवर्तमान अध्यक्ष कपिल पाण्डेले कक्षा १२ का विद्यार्थीहरुको सम्मान शुरु गर्दाको प्रशंग उल्लेख गर्दै गत कार्यकालमा विद्यालय संचालन तथा विविध कार्यक्रममा सहयोग पुर्याउने सबैलाई धन्यवाद व्यक्त गरेका थिए । पाण्डेले गत कार्यकालका पदाधिकारी तथा सदस्यहरुलाई मायाको चिनो समेत प्रदान गरेका थिए ।
कार्यक्रममा बालबालिकाहरुले नृत्यहरु समेत प्रस्तुत गरिएको थियो । भने हाजिरी जवाफ समेत खेलाईएको थियो ।

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आईतवार १४:२३