१६ जेष्ठ २०८३, शनिबार | Sat May 30 2026

संविधानको पूर्ण कार्यान्वयन गर्नुको विकल्प छैनः नेता शर्मा

१ फागुन, काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का नेता जनार्दन शर्मा प्रभाकरले माओवादी जनयुद्धको उपलब्धिस्वरुप प्राप्त नेपालको संविधानको पूर्ण कार्यान्वयन गर्नु अबको एक मात्र जिम्मेवारी भएको बताउनुभएको छ ।

२३ आँै जनयुद्ध दिवसका अवसरमा नेपाल योङ कम्युनिष्ट लिग प्रदेश नं. १ ले आज इटहरीमा आयोजना गरेको कार्यक्रममा उहाँले भन्नुभयो – “जनताको हक अधिकारलाई लिपिबद्ध गर्ने कार्य पूरा भएकाले अब देशलाई समृद्ध बनाउनेतर्फ सबै लाग्नुपर्दछ ।”

नेता शर्माले सबै नेपालीले राज्यका हरेक तहमा समान अधिकार प्राप्त भएको अनुभूति गर्ने समाजवाद उन्मुख शासन व्यवस्थामा जानुको अर्को विकल्प नरहेको बताउँदै राजनीतिक सहमतिबाट प्राप्त दस्ताबेजका रुपमा आएको संविधानको पूर्ण कार्यान्वयनबाट नै नेपाली जनताको सुन्दर भाग्य र भविष्य निर्माण हुने धारणा व्यक्त गर्नुभयो ।

जनयुद्धको भावना र मर्म अनुरुप कार्य गर्न तथा प्राप्त उपलब्धिको रक्षाका लागि युवा एकजुट हुनुपर्नेमा उहाँले जोड दिनुभयो । वाइसिएल प्रदेश १ का इन्चार्ज डम्बरकुमार पुलामीको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्रका नेताहरु मौसम लिम्बू, मुक्साहाङ्ग मेयाग्वो र सचिन नेपालले जनयुद्ध दिवसका विविध पक्षमाथि प्रकाश पार्नुभयो ।

प्रकाशित मिति : February 13, 2018 at 11:13 pm