चुक्ता पुँजी बृद्धिका लागि यी पाँच कम्पनीले जारी गर्दैछन राइट सेयर
८ फागुन, काठमाडाैं । बीमा कम्पनीहरूको मर्जर चलिरहेको समयमा ५ बीमा कम्पनीले भने संस्थापक सेयर तथा राइट सेयर जारी गरेर चुक्तापुुँजी बढाउने प्रस्ताव अघि बढाएका छन् । जीवन बीमा तर्फ सिटिजन लाइफ, सन नेपाल लाइफ, आईएमई लाइफ र रिलायवल लाइफले संस्थापक सेयर चुक्तापुँजी बढाउने योजना बीमा प्राधिकरणमा पेश गरेका छन् । निर्जीवनतर्फ भने एनएलजी इन्स्योरेन्सले संस्थापक सेयर थप गरेर पुँजी बढाउने योजना प्राधिकरणमा पेश गरेको छ ।
हाल जीवन बीमा कम्पनीको २ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीको १ अर्ब रुपैयाँ न्यूनतम चुक्तापुँजी हुनुपर्ने व्यवस्था छ । तर, आगामी चैत मसान्त भित्र जीवन कम्पनीलाई ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीलाई २ अर्ब ५० करोड रुपैयाँ न्यूनतम चुक्तापुँजी पुर्याउनुपर्ने बीमा प्राधिकरणको निर्देशन छ ।
प्राधिकरणले गत चैत महिनामै परिपत्र जारी गर्दै यस्तो निर्देशन दिएको थियो । साेही निर्देशन अनुसार अधिकांश बीमा कम्पनीहरुले मर्जर मार्फत चुक्तापुँजी पुर्याउँदै छन् । तर, यी ५ कम्पनीले भने संस्थापक सेयर थप गर्ने निर्णयमा पुगेका हुन् । प्राधिकरणका अनुसार हालसम्म १९ बीमा कम्पनी मर्जर प्रक्रियामा गइसकेका छन् ।
यी बाहेक नेपाल लाइफ, नेशनल लाइफ र नेको इन्स्योरेन्सको पहिलानै तोकिएको चुक्तापुँजी कायम गरिसकेका छन् । यसका अलावा प्रुडेन्सियल, नेपाल, आइएमई जनरल इन्स्योरेन्स भने मर्जरको लागि पाटर्नर खोजी रहेका छन् । तर, एशियन लाइफ र प्रभु इन्स्योरेन्सको भने चुक्तापुँजी बढाउने योजना अन्योलमा छ ।
प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार ११:३३