मोलुङ्ग हाइड्रोपावरको आईपीओमा कति पर्याे आवेदन ? यस्ताे छ पछिल्लाे अपडेट
५ फागुन, काठमाडाैं । मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडकाे आईपीओमा माग भन्दा बढी आवेदन परेकाे छ । कम्पनीले फागुन ४ गतेदेखि सर्वसाधारणहरूका लागि निष्काशन गरेकाे साधारण सेयर (आईपीओ) मा दाेस्राे दिनमा नै मागभन्दा बढी आवेदन परेकाे हाे ।
सिडिएस एण्ड क्लियरिङ्गको अनुसार शुक्रबार दिउँसो १ः५३ बजेसम्ममा कम्पनीकाे आईपीओमा ५ लाख ८३ हजार ५०२ जना आवेदकले ६६ करोड ५५ लाख ४३ हजार रुपैयाँ बराबरको ६६ लाख ५५ हजार ४३०० कित्ता सेयरको लागि आवेदन दिएका छन्। यो सर्वसाधारणलाई निष्काशन गरेको भन्दा २.९३ गुणा बढी हाे ।
कम्पनीले सार्वजनिक निष्काशनका लागि आफ्नो जारी पूँजीको ३४ प्रतिशतले हुने आउने २७ करोड २८ लाख ५० हजार रुपैयाँ बराबरको २७ लाख २८ हजार ५०० कित्ता शेयर छुट्याएको थियो। सोमध्ये १० प्रतिशत अर्थात २ लाख ७२ हजार ८५० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरु र ५ प्रतिशत अर्थात १ लाख ३६ हजार ४२५ कित्ता शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिसकेको छ भने २ प्रतिशत अर्थात ५४ हजार ५७० कित्ता शेयर कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि छुट्याइएको छ। सर्वसाधारणले बाँकी रहेको २२ लाख ६४ हजार ६५५ कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीकाे आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ८ हजार कित्तासम्मका लागि छिटोमा फागुन १० गते गतेसम्म ढीलोमा फागुन १८ गतेसम्म आवेदन दिन सक्नेछन् ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।
प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार १६:१७














