८ असार २०८१, शनिबार | Sat Jun 22 2024

सरकारले पृथ्वी जयन्ती र जनयुद्ध दिवसमा हरेक वर्ष बिदा दिने, यस्ताे छ निर्णय


५ फागुन, काठमाडौं । पृथ्वी जयन्ती र जनयुद्ध दिवसको सार्वजनिक बिदा क्यालेण्डरमा नै समावेश गरिने भएकाे छ । सरकारकी प्रवक्ता एवम संचार, सूचना तथा प्रविधि मन्त्री रेखा शर्माले मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै शुक्रबार २०८० सालका लागि यसअघि भएका बिदामा पुस २७ गते पृथ्वी जयन्ती र फागुन १ गते जनयुद्ध दिवसको बिदा थप्ने निर्णय भएको जानकारी दिइन् ।

सरकारले क्यालेण्डरमा उल्लेख नभए पनि गएको पुस २७ र फागुन १ मा सार्वजनिक बिदा दिएको थियो । मन्त्री शर्माले २०८० सालको क्यालेण्डर छापिइसकेकाले त्यसपछिका वर्षमा दिइने सार्वजनिक बिदा पुनरावलोकनको काम आगामी भदौसम्ममा सक्ने र बिदा व्यवस्थित गर्ने निर्णय गरिएको बताइन् ।

‘बिदाका विषयमा के गर्ने भन्ने पहिले मन्त्रिपरिषदमा छलफल भएको थियो, त्यसलाई पुनरालोकन गर्नुपर्छ भन्ने पनि छ,’ उनले भनिन्, ‘अहिले पात्रो छापिसकेको अवस्थामा भदौसम्ममा पुनरावलोकन गर्ने र आगामी सालका निम्ति व्यवस्थित गरेर लैजाने निर्णय भएको छ ।’

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार १५:२४