२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

यातायात व्यवस्था ऐन संशोधन गर्नुपर्छः सांसद भट्टराई

३ फागुन, काठमाडाैं । एमालेका सांसद योगेशकुमार भट्टराईले यातायात व्यवस्था ऐन संशोधन गर्नुपर्ने बताएका छन् । बुधवार प्रतिनिधिसभाकाे बैठकमा बोल्दै भट्टराईले रोड सेफ्टी काउन्सिल बनाएर सडक विभागले गरेका काम, यातायात व्यवस्था विभागले गरेका कामहरूको नियमन गर्न जरुरी रहेको बताए । उनले रोड सेफ्टी एक्सन प्लान, २०२१ लाई अघि बढाउनुपर्ने आवश्यक्ता भइसकेको पनि बताए ।

उनले दुई पाङ्ग्रे सवारी साधन दुर्घटनामा मृत्यु हुनुको मुख्य कारण हेलमेटको गुणस्तर रहेकाले हेल्मेटको गुणस्तर परीक्षण गर्नु जरुरी रहेको बताए ।

उनले शहरमा सुरक्षित साइकल लेन, व्यवस्थित फुटपाथ, ह्विलचियर मैत्री, अपाङ्गमैत्री सडक बनाउने कुरा राज्यको निर्देशक सिद्धान्तले भने पनि सो अनुसार हुन नसकेको भन्दै सरकारले आधुनिक र सभ्य सडक बनाउनुपर्ने बताए ।

उनले भने, ‘हामीले एउटा रोड सेफ्टी काउन्सिल बनाउनुपर्छ । त्यसले सडक विभागले गरेका कामहरूको पनि नियमन गर्छ । अनुगमन गर्छ, यातायात व्यवस्था विभागको पनि अनुगमन गर्छ । यी कामहरू आज हुन सकेका छैनन् । एकातिर यातायात व्यवस्था ऐनको संशोधन गर्नुपर्नेछ । रोड सेफ्टी एक्सन प्लान,२०२१ लाई अघि बढाउनुपर्नेछ । रोड सेफ्टी काउन्सिल ऐन, ड्राफ्ट गर्नुपर्नेछ । हेलमेटको गुणस्तरको जाँच गर्नुपर्छ । ७० प्रतिशत मानिसहरू कमजोर हेलमेट प्रयोग गरेका कारणले मृत्यु भइरहेका छन् । अधिकांश दुई पाङ्ग्रे सवारीसाधनमा मृत्यु पछाडि बस्ने यात्रुको हुन्छ ।’

सांसद भट्टराईले नयाँ बसपार्कमा भएको लुटपाटको बारेमा सरकारले छानबिन गरी कारबाही गर्नुपर्ने माग राखेका छन् ।

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार १३:३५