राष्ट्र बैंकले सहकारी र लघुवित्तमाथि कडा रूपमा नियमन र कारबाही गर्नुपर्छः सांसद गौतम
३ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतमले लघुवित्त र सहकारी संस्थाले निम्न वर्गीय जनतालाई ऋणमाथि ऋण बोकाएर रसातलमा पुर्याउने काम गरेको बताएकी छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद गौतमले ऋण लिन बाध्यता रहेको अवस्थामा साहुकारले लाभ लिइरहेको बताइन् ।
गौतमले भनिन्, ‘सुलभ कर्जा प्रवाह गरी निम्न वर्गीय मानिसलाई आर्थिक रुपमा सबल बनाउने उद्देश्यका साथ लघुवित्त र सहकारीको अवधारणा ल्याइएको थियो । यसबाट केही हदसम्म वित्तीय कारोबार आममानिसको पहुँचमा पुगेको देख्न सकिन्छ । तर अत्यधिक मुनाफा आर्जनको निकृष्ट उद्देश्य राख्ने कतिपय लघुवित्त र सहकारी संस्थामार्फत निम्न वर्गीय मानिसलाई ऋणमाथि ऋण बोकाएर रसातलमै पुर्याउने काम भइरहेको छ ।’
साथै उनले राष्ट्र बैंकले सहकारी र लघुवित्त संस्थामाथि कडा रूपमा नियमन र कारबाही गर्नुपर्ने माग राखेकी छिन् । राष्ट्र बैंक आफैले नियमन गर्न नसक्ने भए दोस्रो तहको नियमनकारी निकाय गठन गरी नियमन गर्न र वित्तीय साक्षरता बढाउने कार्यक्रम लिएर आउन उनले अनुरोध गरेकी थिइन् ।
प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार १३:०२












