बलात्कारीविरूद्ध माइतीघरमा नयाँ नारा ‘नेताबाट सिकेछ, प्रहरी पनि बिकेछ’
१३ असोज, काठमाडाैँ । बलात्कारीविरूद्ध माइतीघरमा नयाँ नारा लागेको छ । शनिबार भएको प्रदर्शनमा ‘नेताबाट सिकेछ, प्रहरी पनि बिकेछ’ भन्दै नारा लगाएको र प्लेकार्ड बोकेको पनि देखियो । शनिबार माइतीघर मण्डलामा सोही निर्मला पन्तको हत्यारालाई पक्राउ गरी कारबाही गर्न माग गर्दै प्रदर्शन भएको छ ।
यस प्रदर्शनमा विवेकशील साझा पार्टीका नेता कार्यकर्ता पनि सहभागी भएका थिए, भने अन्य हजारौं प्रदर्शनमा उपस्थित भएका थिए । ‘गृहमन्त्री के हेर्दै ? बलात्कारी देश घेर्दै ?’, ‘सरकार कहाँ चुक्दैछ ? बलात्कारीसँग झुक्दैछ ?’, ‘नेताबाट सिकेछ, प्रहरी पनि बिकेछ’ लगायतका नारा प्रदर्शनकारी लगाएका थिए ।
पछिल्लो समय नेपालमा बलात्कार जस्ता जघन्य अपराधको समाचारले मिडियामा ठूलो स्थान पाएको छ । यसै सन्दर्भमा दुई महिना अघि कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि निर्मम हत्या भएको थियो । तर अझैं पनि सक्कली दोषी को ? भनेर पत्ता लगाउन सकिएको छैन ।
प्रकाशित मिति : १३ आश्विन २०७५, शनिबार १४:२५