मौद्रिक नीतिको समीक्षामा ऋणीलाई सहज, भाखा नाघेको १ महिनासम्म पेनाल ब्याज लिन नपाइने
२७ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ । शुक्रबार राष्ट्र बैंकले सार्वजनिक गरेको उक्त मौद्रिक नीतिको अर्धबार्षिक समीक्षाले ऋणीहरूलाई केही सहज हुने भएको छ ।
उक्त समीक्षामा २०८० जेठ मसान्तसम्मको लागि ऋणीले भुक्तान गर्नुपर्ने कर्जाको साँवा/ब्याज दायित्व भाखा नाघेको एक महिनाभित्र भुक्तान गरेमा पेनाल ब्याज लिन नपाइने व्यवस्था गरिएको छ ।
मौद्रिक नीतिको समीक्षामा भनिएको छ , ‘२०८० जेठ मसान्तसम्मको लागि ऋणीले भुक्तान गर्नुपर्ने कर्जाको साँवा/ब्याज दायित्व भाखा नाघेको एक महिनाभित्र भुक्तान गरेमा पेनाल ब्याज लिन नपाइने व्यवस्था गरिनेछ । ’
साथै, समीक्षामार्फत बैंक तथा वित्तीय संस्थालाई ८.५ प्रतिशतको बैंक दरमा यस बैंकले उपलव्ध गराउँदै आएको दैनिक तरलता सुविधा अन्तर्गतको ओभरनाइट तरलता सुविधा ७ प्रतिशतको नीतिगत दरमा उपलव्ध हुने व्यवस्था मिलाइने व्यवस्था गरिएको छ । यसले बैंकहरूलाइ थोरै भए पनि ब्याजदर घटाउन मद्दत पुग्ने विश्वास लिइएकाे छ ।
यस्तै, साना तथा मझौला उद्यमीको लागि २०७९ पुस मसान्तसम्म सक्रिय वर्गमा रहेको २ करोडसम्मको कर्जालाई उद्योग व्यवसायको नगद प्रवाह तथा आम्दानी विश्लेषण गरी २०८० असार मसान्तभित्र पुनर्संरचना तथा पुनर्तालिकीकरण गर्न पाउने राष्ट्र बैंकले जनाएकाे छ ।
प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार ११:२८












