उपराष्ट्रपति पुन र जर्मनीका राजदूत स्क्याफेर बिच शिष्टाचार भेट
१२ असोज,काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनसँग नेपालका लागि जर्मनीका राजदूत रोल्याण्ड स्क्याफेरले आज शिष्टाचार भेट गर्नुभएको छ । भेटमा उपराष्ट्रपतिले नेपाल जर्मनी सम्बन्ध अत्यन्त प्रगाढ र सौहार्दपूर्ण रहिआएको बताउनुभयो । “यो वर्ष नेपाल जर्मनी–कूटनीतिक सम्बन्ध स्थापना भएको ६० वर्ष पुग्छ ।
पूर्वीय दर्शनअनुसार ६० वर्ष पूर्णता र परिपक्वताको वर्ष मानिन्छ”, भेटमा उपराष्ट्रपतिले भन्नुभयो, “यसकारण म नेपाल र जर्मनी बीचको सम्बन्ध अझै सुदृढ हुँदै जाने विश्वस्त छु । उपराष्ट्रपतिले नेपालको नयाँ संविधानअनुसार भएको तीनै तहको निर्वाचपछि नेपालमा इतिहासमै राजनीतिक स्थिरता कायम भएको बताउनुभयो । उहाँले नेपाल अब आर्थिक समृद्धिको मार्गमा अगाडि बढेको बताउनुभयो ।
“हाम्रो प्राथमिकता अब विकास, समुद्धि र जनतालाई सुखी र खुशी बनाउने हो”, उपराष्ट्रपतिले भन्नुभयो, “नेपाल सरकारले यसलाई समृद्ध नेपाल, सुखी नेपालीको नारा दिएको छ । नेपालको प्राथमिकता विकास र समृद्धि हो ।” उहाँले नेपालको समृद्धिको यात्रामा जर्मनीको साथ सहयोग रहनुपर्ने बताउनुभयो ।
उहाँले नेपाल वैदेशिक लगानीका लागि पूर्ण लगानीमैत्री रहेको प्रस्ट पार्नुहुँदै राजदूत रोल्याण्डमार्फत जर्मनीका निजी क्षेत्रलाई नेपालमा लगानी गर्न आग्रह गर्नुभयो । “हाम्रो ऐन कानूनहरु पूर्णरुपमा वैदेशिक लगानी मैत्री छन्, जर्मनीका निजी क्षेत्रलाई नेपालमा आएर लगानी गर्न आग्रह गर्दछु,” उहाँले भन्नुभयो, “नेपालको लगानीबाट लगानीकर्ताले मुनाफा नै पाउँछन् ।”
उहाँले नेपालको समृद्धिका आधार जलविद्युत्, कृषि, पर्यटन, जडीबुटी र पूर्वाधार निर्माणलगायत भएको उल्लेख गर्नुहुँदै ती क्षेत्रमा लगानीका लागि आग्रह गर्नुभयो । उपराष्ट्रपति सँगको भेटमा जर्मनीको राजदूत रोल्याण्डले जर्मनी र नेपालको सम्बन्ध कसैसँग तुलना हुन नसक्ने बताउनुभयो । उहाँले दुई देश बीचको सम्बन्ध अझ प्रगाढ बनाउन सहयोग र सहकार्यको क्षेत्रलाई फराकिलो बनाउँदै जानुपर्ने बताउनुभयो ।
भेटमा जर्मनीका राजदूतले जर्मनीको निजी क्षेत्र नेपालमा लगानी गर्न तत्पर रहेको बताउनुभयो । “नेपालले नयाँ नयाँ फड्को मार्दै गएको छ । राजनीतिक स्थिरतापछि यहाँ लगानी मैत्री वातावरण बनेको छु भन्ने मैले मेरो देशको निजी क्षेत्रलाई भनेको छु,” उहाँले भन्नुभयो, “मेरो देशका निजी क्षेत्र नेपालमा लगानीका लागि उत्साहित छ ।”
यसैगरी उपराष्ट्रपतिसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क योङ शिकले शिष्टाचार भेट गर्नुभएको छ । भेटमा उपराष्ट्रपतिले नेपाल सदा कोरियाली प्रायद्वीपमा स्थायी शान्ति हुनुपर्नेमा अडिग रहेको बताउनुभयो ।
उहाँले कोरियाली प्रायद्वीपमा स्थायी शान्ति कायम हुनेमा नेपाल पूर्णरुपमा विश्वस्त रहेको बताउनुभयो । भेटमा दक्षिण कोरियाका राजदूतले उत्तर भर्खरै आफ्नो देशका राष्ट्रपतिले उत्तर कोरियाको भ्रमण गरेको र कोरियाली प्रायद्वीपमा स्थायी शान्तिका लागि काम भइरहेको बताउनुभयो ।
प्रकाशित मिति : १२ आश्विन २०७५, शुक्रबार २१:२१