१० पुष २०८२, बिहीबार | Thu Dec 25 2025

पुससम्म राष्ट्र बैंकले गर्याे करिब ३१ खर्ब तरलता प्रवाह, अन्तरबैंक कारोबार कति ?

२४ माघ, काठमाडाैं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्मको अवधिमा विभिन्न उपकरणको प्रयोग गरी करिब ३१ खर्ब रुपैयाँबराबरको तरलता प्रवाह गरेकाे छ ।

राष्ट्र बैंकले आर्थिक अनुसन्धान विभागबाट जारी गरेकाे चालु आर्थिक वर्षको ६ महिनाको तथ्यांकमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनले यस्तो देखाएको छ।

समीक्षा अवधिमा राष्ट्र बैंकबाट रिपोमार्फत रु. ३ खर्ब १८ अर्ब ९ करोड, सोझै खरिद बोलकबोलमार्फत रु. ८३ अर्ब ८५ करोड र स्थायी तरलता सुविधामार्फत रु.२६ खर्ब ९२ अर्ब ८३ करोड गरी कुल रु.३० खर्ब ९४ अर्ब ७६ करोड खुद तरलता प्रवाह भएको हो। अघिल्लो वर्षको सोही अवधिमा विभिन्न उपकरणहरुमार्फत खुद रु.३३ खर्ब ६ अर्ब ९६ करोड तरलता प्रवाह गरिएको थियो।

समीक्षा अवधिमा राष्ट्र बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरु) बाट अमेरिकी डलर २ अर्ब ७६ करोड खुद खरिद गरी रु.३ खर्ब ५८ अर्ब ९० करोड तरलता प्रवाह गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर ६७ करोड खुद खरिद गरी रु. ८० अर्ब २६ करोड तरलता प्रवाह गरिएको थियो।

यो अवधिमा अमेरिकी डलर २ अर्ब २८ करोड बिक्री गरी रु.२ खर्ब ९६ अर्ब २२ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको छ। अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर २ अर्ब १८ करोड बिक्री गरी रु.२ खर्ब ६० अर्ब ७ करो बराबरको भारतीय रुपैयाँ खरिद भएको थियो।

याे अवधिमा अन्तरबैंक कारोबार कति ?

चालु आर्थिक वर्ष २०७९/८० को ६ महिनामा वाणिज्य बैंकहरुको रु.१८ खर्ब ४३ अर्ब ८ करोड र अन्य वित्तीय संस्थाहरु (वाणिज्य बैंकहरुबीच बाहेक)को रु.१ खर्ब ८२ अर्ब ४ करोड गरी कुल रु.२० खर्ब २५ अर्ब १२ करोडको अन्तरबैंक कारोबार भएको छ।

अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुको रु.१६ खर्ब २६ अर्ब ४ करोड र अन्य वित्तीय संस्थाहरुको रु.२ खर्ब १३ अर्ब ५० करोड गरी कुल रु.१८ खर्ब ३९ अर्ब ५४ करोडको अन्तरबैंक कारोबार भएको थियो। राष्ट्र बैंकले सार्वजनिक गरेकाे उक्त तथ्यांक हेर्दा याे अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको अन्तरबैंक कारोबार बढेको छ।

ब्याजदर  कति ?

वाणिज्य बैंकहरुको औसत आधारदर २०७८ पुसमा ८.४२ प्रतिशत रहेकोमा २०७९ पुसमा १०.९१ प्रतिशत कायम भएको छ । २०७९ पुसमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ८.५१ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर १२.७९ प्रतिशत रहेको छ । अघिल्लो
वर्षको सोही अवधिमा यस्ताे दरहरु क्रमशः ६.३७ प्रतिशत र ९.४४ प्रतिशत रहेकाे थियाे ।

२०७८ पुसमा ९१–दिने ट्रेजरी बीलको भारित औसत ब्याजदर ५.०७ प्रतिशत रहेकोमा २०७९ पुसमा १०.८९ प्रतिशत रहेको छ । वाणिज्य बैंकहरुबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर २०७८ पुसमा ४.७६ प्रतिशत रहेकोमा २०७९ पुसमा ७.४८ प्रतिशत रहेको छ । मौद्रिक नीतिको संचालन लक्ष्यको रुपमा लिइने औसत अन्तर–बैंक ब्याजदर २०७९ पुसमा ७.५३ प्रतिशत रहेको छ । अघिल्लो बर्षको सोही अवधिमा यस्तो ब्याजदर ४.७७ प्रतिशत रहेको थियो ।

प्रकाशित मिति : २४ माघ २०७९, मंगलवार १४:३३