`चोहोहो´को घोषणा गर्दै भव्यरुपमा मनाईयो सोनाम ल्होसार
२४ माघ, अष्ट्रेलिया । तामाङ सोसाइटी साउथ अष्ट्रेलियाले बाघ वर्षलाई बिदाइ गरी विरालो वर्षलाई स्वागत गर्दै परम्परा अनुसार मनाईने सोनाम ल्होछार पर्व उपल्यक्षमा सोनाम ल्होछार महोत्सव सम्पन्न गरेको छ । महोत्सवमा मेलवर्न निवासी बम योन्जनलाई `चोहोहो´घोषणा गरिएको छ ।
तामाङ सहित विभिन्न नेपाली सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । महोत्सवमा नेपालमा समेत धेरै दुर्लभ नै मानिएको ऐतिहासिक र सास्कृतिक महत्व राख्ने भाक्पा नृत्य प्रदर्शन गरिएको थियो । नृत्यलाई गुरु रिम्पोचेको नृत्यका रुपमा लिने गरिन्छ । नृत्यका लागि लामा गुरुहरुको टोली नेपालबाट आएको थियो ।
चोहोहोको उपाधीको ताज लामा गुरु र कार्यक्रमकी प्रमुख अतिथि साउथ अष्ट्रेलिया सरकारकी बहुसांस्कृतिक तथा पर्यटन मन्त्री जो बेटिसनले वम जोन्जनलाई लगाईदिएका थिए । कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री बेटिसनले साउथ अष्ट्रेलियामा नेपाली समुदाय बढ्दै गएको बताउदै नेपालीहरु संस्कृतिक रुपमा घनी रहेको उल्लेख गर्दै यहा रहेको समुदाय शिक्षित रहेको बदाउदै प्रशंसा गरेकी थिईन ।

साउथ अष्ट्रेलियाको माथिल्लो सदनमा विपक्षी दलकी उप नेता जिङ् लीले नेपाली समुदाय मेहनती रहेको बताउदै उनीहरुको परिश्रमले अष्ट्रेलिया निर्माणमा महत्वपुर्ण भुमिका खेलेको बताईन । चोहोहो बम योन्जनले आफ्नो यो उपाधी पछि तामाङ समुदाय मात्र नभएर अष्ट्रेलियामा रहेका सम्पुर्ण नेपालीहरुको थप सेवा गर्ने बताए । आफ्नो जिम्मेवारी दायित्व बढेको बताए ।
कार्यक्रममा प्रिमियर पिटर मेलोनोस्कीको प्रतिनिधित्व समेत गरेर कार्यक्रममा उपस्थिति भएका पुर्व सभामुख तथा लेजिलेटिभ काउन्सिलका सदस्य रसेल वाट्ले, संसद सदस्य डाना वाट्ले, साउथ अष्ट्रेलिया सरकारको बहुसांस्कृतिक आयोग सदस्य मञ्जु खड्का, एनआरएनए ओशियाना सह संयोजक अशोक केशी, एनआरएनए अष्ट्रेलिया उपाध्यक्ष तथा साउथ अष्ट्रेलिया संयोजक रेनुका लामा, मगर समाजका अध्यक्ष गोविन्द राना, व्यवसायी अशोक अधिकारी तथा सिड्नी र मेलवर्नबाट आएका तामाङअगुवाहरु लगायतले शुभकामना व्यक्त गर्दै सोनाम ल्होछारका वारेमा प्रकाश पारेका थिए ।
चान्द्रमासअनुसार प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने तमाङ तथा हेल्मो समुदायले सोनाम ल्होछार अर्थात् नयाँ वर्ष पर्व विविध कार्यक्रम आयोजना गरी मनाउने गरेको छ ।

सोसाइटीमा साउथ अष्ट्रेलिया अध्यक्ष पाल्देन लामाले तामाङ संस्कृति सहित नेपालमा विविध भाषा भाषीका सांस्कृतिक झल्को महोत्सवले दिने बताए । सोसाइटीले २०१३ देखी एडिलेडमा सोनाम ल्होछार मनाउदै आएको छ । लामाले प्रवासमा पनि मौलिक संस्कृतिको संरक्षण र प्रचार प्रसारका लागि कार्यक्रम आयोजना गरिएको बताए ।
मञ्जुश्री पात्रोअनुसार गत जनवरी २२बाट बाघ वर्ष पूरा गरी विरालो वर्ष प्रवेश गरेको छ । यो २८५९ औ सोनाम ल्होछार हो ।
मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्षमा सोनाम ल्होछारलाई विभाजन गरिएको छ । ल्होछारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक मानिन्छ । तामाङ समुदायले माघ कृष्ण औँसीका दिन बेलुकी घर घरमा दीपावली गरी ल्होछारको नयाँ वर्षलाई स्वागत गर्छन् । नेपालमा बिहानै स्नान गरी घर सफा सुग्घर गरी पूजाआजा गरेर मान्यजनबाट टीका एवं आशीर्वाद ग्रहण गर्ने परम्परा रहेको छ |
`ल्हो’ भन्नाले वर्ष तथा ‘सार’ भन्नाले नयाँ भन्ने बुझाउँछ । प्रत्येक वर्ष ल्होसारका अवसरमा आफ्ना मान्यजनबाट आशिर्वाद लिने र शुभकामना आदानप्रदान गरिन्छ । नयाँ वर्षका रूपमा तामाङ, शेर्पा, गुरुङ, मगर, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा र लेप्चालगायतका जातिले ल्होसार पर्व मनाउने गर्छन् । जाति नै पिच्छे फरक-फरक समयमा ल्होछार मनाउने चलन छ ।

के हो चोहोहो भनेको ?
अष्ट्रेलियाका नेपाली समुदायका अगुवा दिपक लामा घिसिङका अनुसार चोहोहो भनेको तामाङ समुदायको सर्वोच्च व्यक्ति हो । नेपालमा व्यवस्था अनुसार यसलाई अधिकार दिईएको थियो । पृथ्वी नारायणको समय अगाडि चोहोहो भनेको राजाको भुमिका भएको पद हो । परापुर्व कालमा तोम्वाहरुले जनताका समस्या विवादको अहिलेका वकिलले जस्तै व्याख्या गर्ने र चोहोहोले फैसला दिने गर्थे घिसिङले बताए । उनले भने पछि राणाकालमा यो पदलाई गाउको मुखिया जस्तो भुमिका पायो ।
घिसिङले वम योन्जनलाई दिएको पदवी सम्मान भएको बताए । पछिल्लो दशकहरुमा यो घोषणा नेपालका लागि समेत पहिलो भएकाले कार्यक्रममा सिड्नी मेलवर्न लगायतका स्थानहरुबाट पनि अगुवाहरु आउनु भएर घोषणा गरिएको र अब यसलाई आगामी वर्षहरुमा कसरी अगाडि बढाउने भनेर थप छलफल हुने बताए ।
सम्मानित योन्जन लामो समय देखी अष्ट्रेलिया रहेर नेपाली समुदायको सेवामा क्रियाशिल व्यक्ति हुन् ।

प्रकाशित मिति : २४ माघ २०७९, मंगलवार १३:५३












